विदेश जाने श्रमिकले एक घण्टामा नै श्रम स्वीकृति पाउने

विदेश जाने श्रमिकले एक घण्टामा नै श्रम स्वीकृति पाउने

काठमाडौं। वैदेशिक रोजगारीमा जाने श्रमिकले अबदेखि एक घण्टा भित्रमा नै श्रम स्वीकृति पाउने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यलयले कागजपत्र पुगेको अवस्था एक घण्टामा नै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो।

श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यलय समयमा अनलाईनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेण्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए।

ताहचल कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले प्राविधिक समस्या, विद्युतको आपूति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टमा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको बताए।

नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको मन्त्री अर्यालले बताए। यसका लागि कार्यलयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद समेत दिए।

‘यो सबै कर्मचारीको मेहनत हो। मलाई उहाँहरू माथि पुरै विश्वास छ। यो क्रमलाई उहाँहरुले आगामी दिनमा पनि निरन्तरता दिनुहुनेछ,’ उनले भने।

श्रममन्त्री अर्यालले पदभार ग्रहण गरेसँगै श्रम स्वीकृतिको प्रक्रियालाई एक घण्टामा छोट्याउन फेमिसका सफट्वेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिएका थिए।

‘हाफ पाईन्ट, टिसर्ट र चप्पल लगाएर, मिटर ब्याजमा ऋण लिएर वैदेशिक रोजगारी जानका लागि श्रम स्वीकृति लिन आउने श्रमिकलाई फेरी तीन चार दिन लगाएर अल्झाउँने, यो कुनै पनि हालतमा स्वीकार्य छैन। श्रमिक कुनै पनि बहानामा ठगिनु हुँदैन। त्यसैले मेरो पहिलो एजेण्डा श्रम स्वीकृतिको प्रक्रियालाई छिटो गराउनु थियो,’ उनले भने।

श्रम स्वीकृति पूर्ण रुपमा निशुल्क हो। श्रमिकले आफनै मोवाइल वा कम्पप्यूटरबाट अनलाईन आवेदन दिन सक्नेछन्। श्रम स्वीकृति पनि अनलाईनबाट नै प्राप्त गर्न सक्नेछन्। यसका लागि कार्यलय धाई रहनु नपर्ने मन्त्री अर्यालले बताए।
‘सक्नुहुन्छ भने आफनै मोबाइल वा कम्प्यूटरबाट आवेदन दिनुहोस्। आवेदन दिने प्रक्रिया पनि विभागको वेव साइटमा राखिएको छ,’ उनले भने।

एक घण्टामा नै श्रम स्वीकृति प्रदान गर्नका लागि वैदेशिक रोजगार कार्यलयले हाल पुन: श्रम स्वीकृतिलाई एउटै तहबाट स्वीकृति प्रदान गर्न थालेको छ। यसअघिको व्यवस्था अनुसार एउटा तहले कागजपत्र प्रमाणीकरण गर्ने र अर्को तहले स्वीकृति गर्ने व्यवस्था थियो।

हाल वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७९ शंसोधन गरी एकै तहबाट श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ। यसले श्रम स्वीकृतिको प्रक्रिया निक्कै नै सहज बनाएको श्रममन्त्री डिपी अर्यालले बताए।

त्यस्तै, फेमिस सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेड रुपमा राखिएको छ। यसका साथै कर्मचारीहरुले दुई वटा सिफट्मा परिचालन गरिएको छ। विहान ७ देखि बेलुका ९ बजेसम्म गरी कर्मचारीले दुई सिफट्मा काम गर्दे आएका छन्।

त्यस्तै, सार्वजनिक विदा र शनिबारको दिनमा पनि कर्मचारीलाई परिचालन गरिएको छ। तर, आगामी दिनमा भने कर्मचारीलाई एकै सिफट्मा कार्यलय समयमा मात्रै काम गर्ने गरी सुधार गरिने मन्त्री अर्यालले बताए।

‘केही समयमा लागि कर्मचारीलाई सिफट्मा काम गर्न लगाईएको हो। तर, आगामी दिनमा एकै सिफट्मा कार्यलय समयमा मात्रै काम गर्ने गरी सुधार गर्नेछौ,’ उनले भने।

कार्यलयले अहिले कर्मचारीलाई प्रत्येक दिन श्रम स्वीकृतिको लागि निश्चित कोटा तोकेको छ। काठमाडौ कार्यालयबाटबाहेक ६ वटै प्रदेशबाट नयाँ कम्तिमा ५० र पुन श्रम स्वीकृति १०० वटा टोकनको व्यवस्था गरिएको छ। पहिलो कार्यालयले चाहेजति मात्र टोकन पाउने व्यवस्था थियो।

श्रम स्वीकृतिको लागि श्रमिकले मुख्य गरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौता पत्र पेश गर्नुपर्नेछ।

त्यस्तै, श्रमिकले बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क भुक्तानी गरेको हुनुपर्नेछ श्रमिकलाई सहज रुपमा श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन सुचना प्रणाली (फेमिस) सञ्चालनमा ल्याएको हो। अहिले दैनिक औसत १ हजार ६०० जनालाई श्रम स्वीकृति प्रदान गरिएको छ।