रूसी सेनाबाट नेपालीलाई फर्काउन पहल भइरहेकाे छ : परराष्ट्रमन्त्री

काठमाडौं। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको जानकारी दिएका छन्।
प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरूको सोमबार जवाफ दिँदै यसका लागि वार्ता अघि बढाएको बताए।
रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउने र मृतकको शव नेपाल पठाउन रूसलाई अनुरोध गरिएको उनको भनाइ छ।
‘मैले रूसका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेँ। रूसका तर्फबाट महामहिम राजदूतसँग भेटवार्ता गरी नेपालीहरूलाई रूसी सेनामा भर्ती नगर्न, सम्झौता भए खारेज गर्न र शव नेपाल पठाउन, क्षतिपूर्ति दिन अनुरोध गर्ने काम गरेको छु,’ मन्त्री श्रेष्ठले भने।