श्रममन्त्री र आइएलो निर्देशकबीच भेटवार्ता

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानले शिष्टाचार भेटवार्ता गरेका छन्।
साेमबार भएकाे भेटमा निर्देशक नुमानले मन्त्री अर्याललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
मन्त्री र निर्देशकले नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठनबीच भएका सहकार्यको स्मरण गर्दै हासिल भएका प्रगतिबारे छलफल गरे।
साे अवसरमा हालै केन्द्रीय श्रम सल्लाहकार परिषद्बाट स्वीकृत भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महासन्धी तथा प्रोटोकलहरुलाई अनुमोदन गर्ने सम्बन्धी कार्ययोजना, गन्तव्य मुलुकहरुसँगका द्विपक्षीय श्रम आप्रवासन सम्झौता, अन्तर्राष्ट्रिय श्रम संगठनमा गर्नुपर्ने नियमित र आवधिक प्रतिवेदन लगायतका विषयमा भएको प्रगतिबारे छलफल भएकाे मन्त्री अर्यालकाे सचिवालयले जनाएकाे छ।
साथै, श्रम क्षेत्रको औपचारिकीकरणका लागि कार्यान्वयन भइरहेको औपचारिकीकरणसम्बन्धी कार्ययोजना, रोजगार सेवा केन्द्रहरुको सुदृढीकरण, वाध्यकारी श्रम तथा बालश्रममुक्त स्थानीय तह घोपणासम्बन्धी विविध विषयमा छलफल भएकाे छ।
सचिवालयका अनुसार आसन्न अन्तराष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा नेपालको सहभागितालाई सार्थक तुल्याउने विषयमा समेत छलफल भएकाे छ।
सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारीमा नेपालको सहभागिताको विषयमा निर्देशक ओज्कानले चासो व्यक्त गरेका थिए।
सरोकारवालाहरुको छलफल तथा अन्तरक्रियाबाट सकारात्मक राय/सहमति प्राप्त भइसकेको सन्दर्भमा नेपाल सहभागी हुने सम्बन्धी आवश्यक प्रक्रिया शुरु भइसकेको मन्त्री अर्यालले जानकारी गराए।