छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा पलेसा

छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा पलेसा

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारा ओलम्पिकमा छनोट भएकी छन्।

आइतबार चीनको ताईयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिन्।

यो उपलब्धीसंगै इतिहास रचेकी पलेशा पारा ओलम्पिकका लागि छनोट हुने पहिलो नेपाली खेलाडी बनेकी छन्। यसअघि तेक्वान्दोकै दुई खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए।

संगीना वैद्यले २००४ को एथेन्स तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर खेलेका थिए।

पलेशाले फाइनलमा इरानकी लेइला मिर्जाइलाई ५–४ ले पराजित गरी स्वर्ण जित्दै इतिहास रचेकी हुन्। त्यसअघि सेमिफाइनलमा पलेशाले उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले हराउदै फाइनल यात्रा तय गरेकी थिइन्।

पलेशाको स्पर्धामा ४ खेलाडी सहभागी थिए। पारा छनोटको प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारा ओलम्पिकलाई छनोट हुने प्रावधान थियो।

पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन्। पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन्। टोकियो पारा ओलम्पिक– २०२० मा पनि पलेशाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन्।

नेपालमा छनोट प्रतियोगिता खेलेपछि पलेशा चीनको सांघाईं गएकी थिइन्। सांघाईबाटै पलेशा एसियाली छनोट खेल्न ताइयान गएकी थिइन्।

पलेशा सांघाईको तोङजी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययन गरिरहेककी छन्।

एसियाली छनोटमा नेपालबाट २ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए।

पुरुष ६३ केजीमुनि भरतसिंह महता र ५८ केजीमुनि अमीर ब्लोन पदकविहीन बने। एक ‘बाउट’ जितेका भरतले इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए।



No ads found for this position