विदेशमा खुलेका नेपाली संघ-संस्थाबीच शत्रुता होइन प्रतिस्पर्धा हुनुपर्छ : राजदूत, सुवेदी

विदेशमा खुलेका नेपाली संघ-संस्थाबीच शत्रुता होइन प्रतिस्पर्धा हुनुपर्छ : राजदूत, सुवेदी

टोकियो। जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले विदेशमा खुलेका नेपाली संघ–संस्थाबीच शत्रुता नभइ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

जापानमा रहेको नेपाली समुदायको उदाहरण दिँदै राजदूत सुवेदीले प्रवासमा नेपाली संघ–संस्थाहरू विस्तार हुनु राम्रो पक्ष भएको बताए।

‘विदेशमा नेपाली संघ–संस्थाहरू बढिरहेका छन्। जापानमा पनि सयौं नेपाली संघ–संस्था छन्। सामाजिक काम गर्न संस्था जन्मिनु राम्रो कुरा हो,’ उनले भने, ‘संघ–संस्थाबीच शत्रुता हुनु हुँदैन। राम्रा कार्यका लागि प्रतिस्पर्धा गर्नुपर्छ। संस्था धेरै भएर घाटा केही भएको छैन। राम्रा काममा प्रतिस्पर्धा गर्दा यसको फाइदा समाज र देशलाई हुन्छ।’

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) को सम्मेलनका लागि टोकियो  पुगेका पत्रकारहरूसँग कुरा गर्दै सुवेदीले नेपाली संघ– संस्थाहरूसँगको सहकार्य र सहयोगबिना दूतावासका कामकारवाही प्रभावकारी नहुने बताएका हुन्।

‘यहाँ नेपालीहरूलाई केही समस्या पर्‍यो भने दूतावासमा आउनुहुन्छ। दूतावासमा स्रोत र साधन पर्याप्त छैन। दूतावास एक्लैले गर्नसक्ने पनि होइन। हामीले त कुटनीतिक तवरले सहजीकरण गरिदिने हो। नेपाली संघ–संस्थासँगको समन्वयबिना समस्या समाधान गर्न सम्भव छैन। हामीले पनि गुर्हाने नेपाली समाजलाई नै हो,’ उनले भने।

जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पुर्‍याउँदै आएको योगदान उदाहरणीय रहेको सुवेदीको भनाइ छ।

दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाईबाट जापान सरकार तथा यहाँको समाजले नेपाली परिचय र पहिचान दिलाउन सफल भएको उनले बताए।

राजदूत डा. सुवेदीले नेपाल–जापानबीचको सांस्कृतिक, धार्मिक र जनस्तरमा सम्बन्ध विस्तारमा यहाँको नेपाली समाजले उल्लेख्य भूमिका निर्वाह गरेको बताए।

सुवेदीका अनुसार जापानमा अहिले नेपालीको संख्या झण्डै १ लाख ६३ हजार छ। यो ग्राफ पछिल्ला दिनहरूमा बढ्दो क्रममा रहेको उनको भनाइछ।

जापानमा नेपालीहरू विभिन्न पेसा व्यवसाय, रोजगारी र अध्ययनका लागि पुगेका छन्।

सुवेदीका अनुसार जापानमा ८ सयभन्दा बढी नेपालीले रेष्टुरेण्ट व्यवसाय गरेर बसेका छन्। यस्तै, रेमिट्यान्स, रियलस्टेट, इ–कर्मशलगायतका व्यवसायमा संग्लन छन्।

अहिले ४० हजार नेपाली विद्याथीले जापानमा उच्च शिक्षा अध्ययन गरिरहेको जानकारी सुवेदीले दिए।

‘जापानमा रहेको नेपाली समाज अन्य देशको तुलनामा सु–सङ्गठित, सुविचारित र समृद्ध हुँदै गएको छ’, राजदूत डा सुवेदीले भने ।

अहिले जापानमा रहने नेपाली कुक अथवा वेटर मात्र नभई विभिन्न क्षेत्र तथा ठूला र स्थापित पेसा व्यवसायमा अघि बढिरहेको उनको भनाइ छ।

नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, विद्युत, सडक, विमानस्थल, सञ्चारलगायतका क्षेत्रमा निःस्वार्थरुपले जापानले सहयाेग गर्दै आइरहेको उनले बताए।