महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय संसदमा प्रवेश

महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय संसदमा प्रवेश File Photo

काठमाडौं। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानी  विषय संसदमा प्रवेश गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषयमा प्रश्न उब्जाएका छन्।

शुक्रबार बैठक सुरु भएलगत्तै सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोपसहित प्रतिशोधमा उत्रिएका थिए। प्रतिपक्षी दलका सांसदहरुले सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आक्रोशसहित अभिव्यक्ति दिएका थिए।

प्रतिपक्षी दलका सांसदको आक्रोश र आरोपयुक्त अभिव्यक्तिको प्रतिवाद गर्ने क्रममा सांसद सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय उठाएका हुन्।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको सल्लाहअनुसार सभामुख देवराज घिमिरेले संसदको महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए। तिमिल्सिना र घिमिरे एमालेबाट सभाध्यक्ष र सभामुखमा चयन भएका थिए।

एमालेका प्रमुख सचेतक पदम गिरी र सांसद योगेश भट्टराईसहित प्रतिपक्षी दलका सांसदको सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आरोपयुक्त अभिव्यक्ति आएपछि माओवादी केन्द्रका सांसद सापकोटाले संघीय संसद् सचिवालयका महासचिव पाण्डेयको तीनवटा नागरिकताको विषय उठाएका हुन्।

‘म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न। संसद्मा हाम्रो महासचिवको तीनवटा नागरिकता छ, दुई वटा पार्सपोर्ट छ।, तपाईंहरूले त्यो थप्नुहुन्न,’ सांसद सापकोटाले बैठकमा भने।
महासचिव पाण्डेयको नागरिकता र राहदानीबारे सञ्चार माध्यममा समाचार आइरहेका बेला शुक्रबार संसदमा समेत प्रवेश भएको हो।