फेसबुकबाट चिनजानः प्रेममा रहँदा गोप्य फोटो साटासाट, ब्रेकअपपछि सार्वजनिक

फेसबुकबाट चिनजानः प्रेममा रहँदा गोप्य फोटो साटासाट, ब्रेकअपपछि सार्वजनिक File Photo

काठमाडौँ । आफ्नी प्रेमिकाको गोप्य फोटो र भिडियो सार्वजनिक गरेर चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पीडित महिलाको उजुरीका आधारमा प्रहरीले नुवाकोटको शिवपुरी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-११ बानियाँटार बस्ने २७ वर्षीय किरण थापालाई पक्राउ गरेको हो।

उनीविरुद्ध गत पुस ८ गते महिलाको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो। त्यसपछि फरार रहेका थापालाई खोजतलास गर्ने क्रममा बुधबार काठमाडौंको गोंगबुबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए।

उनका अनुसार ती महिला र थापा सामाजिक सञ्जाल फेसबुकमार्फत् जोडिएर प्रेम सम्बन्धमा थिए। त्यही क्रममा उनीहरुबीच मेसेन्जरमार्फत गोप्य फोटो र भिडियोसमेत एकआपसमा साँटासाट भएको र तर सम्बन्ध बिग्रिएपछि थापाले प्रेमिकाको फोटो र भिडियो महिलाका परिवारका सदस्य र आफन्तहरुलाई पठाएर चरित्र हत्या गरेका थिए।

त्यसपछि ती महिलाले थापाविरुद्ध साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्।