‘अपरेसन डंकी’ : यसरी समात्यो भारतीय नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने समूह

‘अपरेसन डंकी’ : यसरी समात्यो भारतीय नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने समूह

काठमाडौं। भारतीय नागरिकहरूलाई नेपाल ल्याएर बन्धक बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

यसक्रममा गौशालास्थित एक घर भाडामा लिएर बन्धक राखिएका ११ जना भारतीय नागरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ। बन्धक बनाउने कार्यमा संलग्न आठ जनाको समूहमा रहेका भारतीय गिरोहलाई प्रहरीले पक्राउपछि बिहीबार सार्वजनिक गरेको छ।

युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत मुलुकमा पठाउने भन्दै ती भारतीय नागरिकलाई नेपाली भूमि ल्याइएको खुलेको काठमाडौं परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले बताए।

गौशालाको उक्त घर भाडामा लिएर बन्धक बनाएको पाइएपछि परिसर र वृत्त गौशालाको टोलीले उद्धार गरेको हो।

‘अपरेसन डंकी’ दिएर थालिएको रेस्क्युपछि विभिन्न तथ्यहरू खुलेका छन्। खत्रीका अनुसार भारतीय ‘माफिया’हरूले विभिन्न प्रलोभन देखाएर पीडितहरूलाई नयाँदिल्ली, दुबई र बतार हुँदै काठमाडौं ल्याएको पाइएको छ।

‘काठमाडौंमा ल्याएपछि होल्ड गरेर राख्ने गरेको खुलेको छ,’ खत्रीले पत्रकार सम्मेलनमा भने, ‘काठमाडौं आएपछि कसैलाई विमानस्थलसम्म लिन जाने, कसैलाई भने बुक गरिएको होटलमा सिधै पठाइदिने र केही दिन त्यतै राख्ने गरेको खुलेको छ।’

उक्त समूहले केही दिनको बसाइपछि पीडितहरूलाई काठमाडौं(९ रातोपुलस्थित धोबीखोला करिडोरनजिक एक घरमा पुर्‍याएर पासपोर्ट, इलेक्ट्रोनिक डिभाइस र अनिवार्य रूपमा बोक्न भनिएको तीन सय अमेरिकी डलर जफत गरेर पूर्ण दबाब र नियन्त्रणमा राख्ने गरेको खत्रीले बताए।

‘त्यसरी दबाबमा राखेपछि पीडितलाई विभिन्न देशको अध्यागमन र सम्बन्धित एयरलाइन्सहरूको बोर्डिङ पास र टिकट आफन्तलाई सामाजिक सञ्जालबाट पठाएर आफू अमेरिका जाँदै गरेको भन्न लगाउने गरेको अनुसन्धानले देखाएको छ,’ खत्रीले भने।

यो समूहले पीडितलाई अमेरिका पुग्ने अन्तिम बिन्दु भनिएको मेक्सिको देशको भाषा, संस्कृति, संगीतलगायतसँग मिल्ने खालकव कृत्रिमा वातावरण बन्धक बनाएकै घरमा सिर्जना गरेर कलरभिडिओमार्फत आफन्तसँग रकम माग गर्ने गरेको थियो। समूहले एक जनाबाट ४० लाख रुपैयाँ भारु भारतमा रहेका एजेन्टको खातामा डिपोजिट गर्न लगाउने गरेका थिए।

‘यातना र दबाबमा राखेर आफूहरू सुरक्षित र रमाइरहेको भनी जबरजस्ती आफन्तसँग बोल्न लगाउने गरेको अनुसन्धानबाट खुलेको छ,’ खत्रीले भने।

एजेन्ट समूहले पीडितहरूलाई शारीरिक, मानसिक यातना दिने र भारतमा रहेका आफन्तहरूको ज्यानसम्म लिने धम्की दिने गरेका थिए। ‘यस्तो काम गर्दा फेक लोकेसन देखाउने मोबाइल एप्लिकेसनको समेत प्रयोग गरेको पाइएको छ,’ खत्रीले भने।

उद्धार गरिएका भारतीय नागरिकमा पन्जाबका बढी रहेका छन्।

अनुसन्धान अनुसार पक्राउ परेका ५८ वर्षीय राजगढ निवानिया मध्यप्रदेशका इन्दुसिंह यादव २०४२ सालमा नेपाल आएको खुलेको छ।

उनी नेपाल आएपछि कपडा गार्मेन्टमा काम थालेका थिए। उनी गिरोहका मुख्य एजेन्ट हुन्।

यस्तै, पक्राउ परेका ५१ वर्षीय अर्का व्यक्ति निपुन गुप्ता पञ्जाबका हुन्। उनी २०४६ सालमा नेपाल आएर घडी पसलमा काम थालेका थिए। यो घटनामा हुनी एजेन्टको भूमिकामा थिए।

यसैगरी, पक्राउ परेका ४२ वर्षीय चरणजित सिंह भारत नयाँदिल्लीका हुन्। उनी भान्सेको रूपमा यस कार्यमा संलग्न थिए।

यस्तै, पक्राउ परेका अशोक कुमार पनि प१जाबका हुन्। उनी पीडितहरूको निगरानीमा खटिएका थिए।

पक्राउ परेका ५४ वर्षीय अब्दुल रहिम भारत महिपालपुरका हुन्। उनी आइटी एक्सपर्ट हुन्।

यस्तै, ४७ वर्षीय पञ्जाबका मनिषकुमार मल्होत्रा, मध्यप्रदेशका ३० वर्षीय रवि मेवाडे, राजस्थानका ४८ वर्षीय रामचन्द्र शर्मालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरू विभिन्न भूमिकामा गिरोहलाई सहयोग गर्ने सदस्य थिए।

पक्राउ परेकाहरूको कोठाबाट विभिन्न एयरलाइन्सका नक्कली बोर्डिङ पास, पीडितका पासपोर्ट, नक्कली रबर स्ट्याम्प, कैंची, पेपर कटर सामान बरामद भएको खत्रीले बताए।

यस्तै, मेक्सिकन तथा ब्राजिलियन समय सेट गरेका घडी, वातावरण सिमुलेशनको लागि प्रयोग हुने स्पीकर, ल्यापटप, विभिन्न देशका मुद्रा, शारीरिक यातना दिन प्रयोग हुने पाइप बरामद भएको खत्रीले बताए।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ।

यो गिरोहलाई पक्राउ गर्दा नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयको सहयोग, भारतीय प्रहरी, इन्टरपोलको सहयोग लिइएको खत्रीले बताए।