रातो पुलमा ‘बन्धक’ बनाएर घरमा ‘अमेरिका पुगिसक्यौं’ भन्न लगाउँथे दलालहरू

रातो पुलमा ‘बन्धक’ बनाएर घरमा ‘अमेरिका पुगिसक्यौं’ भन्न लगाउँथे दलालहरू File Photo

काठमाडौं। अमेरिका पठाइदिने भन्दै बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई प्रहरीले उद्धार गरेको छ।

प्रहरी स्रोतका अनुसार अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले कम्तीमा ३० जना मानिस रातो पुलस्थित एउटा घरमा बन्धक बनाइराखेका थिए।

स्थानीयको सूचनाका आधारमा बुधबार काठमाडौँ प्रहरीले उनीहरूलाई उद्धार गरेको हो।

बिचौलियाहरूले उनीहरूलाई घरभित्रै थुनेर यातनासमेत दिने गरेका थिए।

उनीहरूलाई कुटपिट गर्दै आफन्तहरूसँग ‘हामी अमेरिका पुगिसक्यौँ’ भन्न लगाएको पीडितहरू प्रहरीलाई भनेका छन्। बन्धक बनाइएका मध्ये केही भारतीय नागरिक पनि थिए।

रातो र सेतो पुलको बीचमा रहेको एउटा कोलोनीमा रहेको घरमा उनीहरूलाई बन्धक बनाइएको थियो। त्यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

लामो समयदेखि त्यहाँ थुनिएका र यातना दिइराखेका पीडितहरूका बारेमा स्थानीयले केही समयदेखि आशंका गरेका थिए। स्थानीयबासीका अनुसार त्यो घरमा दिनहुँ केही मानिसहरू खाना लिएर आउने गरेका थिए।

आजै (बुधबार) त्यहाँ वरिपरिका घरहरूमा चोरी पनि भएको थियो। चोरी भएको खबर पाएर टोलमा आएका प्रहरीहरूलाई त्यो घरका शंकास्पद क्रियाकलापबारे स्थानीयले भनेपछि प्रहरीले छापा हानेको थियो।

प्रहरीले बन्धक बनाउने केही व्यक्तिलाई पनि त्यही घरबाट पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले यसबारे अरु विवरणहरू भने दिएको छैन।