पूर्वप्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दनको तयारी

पूर्वप्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दनको तयारी File Photo

धनगढी। पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। नागरिक अभिनन्दन समितिका संयोजक मायाप्रकाश भट्टले फागुन ३ गते चन्दलाई नागरिक अभिनन्दन गर्नका लागि सम्पूर्ण तयारी भएको बताए।

अभिनन्दनको तयारीका लागि भट्टको संयोजकत्वमा दुई सय ५१ सदस्यीय नागरिक अभिनन्दन समारोह समिति गठन गरिएको छ। वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, बैतडीमा जन्मिएर नेपाली राजनीति र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै चन्दलाई अभिनन्दन गर्न लागिएको संयोजक भट्टले बताए।

उनले चन्दको ८४औं जन्मोत्सवको अवसरमा सो कार्यक्रम आयोजना गरिने बताए। नागरिक अभिनन्दन समारोह अघि धनगढीमा स्थानीय भेषभुषा, लोकसंस्कृति झल्कने झाँकीसहितको चन्दको रथारोहण समेत आयोजना गरिने भट्टले बताए। चार पटक प्रधानमन्त्री भएका चन्दलाई २०५४ सालमा ‘बिसर्जन’ कृतिका लागि मदन पुरस्कार प्रदान गरिएको थियो।

उनी वि.सं. २०४०, वि.सं. २०४६, वि.सं. २०५३ र वि।सं। २०५८ मा गरी चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए। उनी नेपालका वरिष्ठ राजनीतिज्ञहरु मध्ये एक साहित्यकारका रूपमा बढी परिचित छन्। उनको हिउँको तन्ना, नेताका साथी, पाहुना घरलगायतका साहित्यिक कृति प्रकाशन भएका छन्।