जर्मनीमा लगातार श्रमिकको हडताल

जर्मनीमा लगातार श्रमिकको हडताल

काठमाडौं (एजेन्सी) जर्मनीमा सरकार र कम्पनीहरू सामान्यतया श्रमिक संघहरूसँग राम्रो सम्बन्ध राख्छन्। तर, तलबमा असहमतिका कारण पछिल्लो महिनादेखि रेल, बस र विमानस्थलका कर्मचारीहरू एकपछि अर्को गर्दै काममा आउन छाड्का छन्।

बुधबार एयरपोर्टमा ग्राउन्ड स्टाफको हडतालका कारण जर्मन एयरलाइन्स लुफ्थान्सामा १० मध्ये नौ उडान रद्द भएका थिए। जर्मनीमा आखिर किन एकपछि अर्को यतिधेरै हडताल भइरहेका छन्?

हडतालका कारण

सन् २०२२ को अन्त्यदेखि जर्मनीमा कामदारहरूको चिन्ता बढेको छ। युक्रेनमा युद्ध सुरू भएपछि जर्मनीमा ज्यालादर चार प्रतिशतले घटेको छ। गत वर्ष केही क्षेत्रमा १० प्रतिशतसम्म तलबभन्ता बढाइएको थियो। तर, मुद्रास्फीति ५ दशमलव ३ प्रतिशतको उच्च दरमा रहेकाले यसले खासै फाइदा भने पुर्‍याएन। मुद्रास्फितिको दबाबले पारिश्रमिकबारे गर्नुपर्ने वार्तालाई समेत तनावपूर्ण बनाएको छ। जसका कारण हडताल बढ्न थालेको छ।

जनवरीको अन्त्यमा जर्मनीका रेल चालकहरूले पाँच दिनसम्म हडताल गरेका थिए। त्यसपछि बन्दका कारण विमानस्थलका कर्मचारी र स्थानीय यातायात सेवा ठप्प भएको थियो। ‘कर्मचारीहरूले वास्तवमै आम्दानीमा कमी महसुस गरिरहेका छन्, महिनाको अन्त्यमा उनीहरूको खल्तीमा एकदमै थोरै पैसा बाँकी छ,’ क्यासल विश्वविद्यालयमा राजनीति विज्ञान प्राध्यापक अलेक्ज्याण्डर गालासले एएफपीलाई भने।

कर्मचारीको कमी

अर्कोतर्फ, जर्मन उद्योगमा कर्मचारीको चरम अभावका कारण श्रमिक युनियनहरूले थप शक्ति प्राप्त गरेका छन्। श्रमिक संघको माग र उद्योगको यो संकटबीच द्वन्द्व चलिरहेको छ।

‘सङ्कटग्रस्त उद्योगसँग बाँड्नका लागि धेरै थोक छैन,’ इकोनोमिक थिंक ट्याङ्क आईबीडब्ल्यूका हेगन लेस भन्छन्, ‘त्यसैले तत्काल समाधानहरू फेला परेका छैनन्।’

जर्मनीमा श्रमिकसँगको सम्बन्ध सहमतिमा आधारित रहे पनि यी हडतालका कारण अहिले यो सम्बन्धको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । लेस भन्छन्, ‘यो जर्मन मोडेलको लागि वास्तविकता सामना गर्ने क्षण हो। श्रम युनियनहरू कोरोना भाइरस महामारीको समयमा थप सम्झौताका लागि तयार थिए, तर अब त्यो अवधि पनि समाप्त भइसकेको छ।’

ऐतिहासिक रूपमा जर्मनी युरोपका ती देशमध्ये एक हो जहाँ कामदारहरू विरलै हडतालमा जान्छन्। २०१२ र २०१ को बीचमा, प्रत्येक एक हजार कार्य दिनहरूमा १८ दिन मात्र हडतालका कारण काम अवरुद्ध भएको थियो। अर्कोतर्फ फ्रान्समा यो अवधिमा यो संख्या ९२ दिन थियो।

सामूहिक सम्झौताहरूले जर्मनीलाई लामो समयदेखि हडतालबाट जोगाएको छ। सन् २०१० मा ५६ प्रतिशत कर्मचारी सम्झौतामा समेटिएकामा अहिले ४८ प्रतिशत मात्रै कर्मचारी समेटिएका छन्।

कर्मचारीको समर्थन

यसबाहेक हाल यसबारे ठोस तथ्याङ्क नआए पनि हडताललाई कर्मचारीबाट व्यापक समर्थन मिलिरहेको कतिपयले बताएका छन्।

‘हामीले उच्चस्तरको सहभागिता देखिरहेका छौं, जसले ट्रेड युनियनको सदस्यतामा पनि वृद्धि भएको छ,’ जर्मनीको आर्थिक र सामाजिक अनुसन्धान संस्थान डब्ल्यूएसआईका अनुसन्धानकर्ता थोरस्टेन शुल्टेनले समाचार एजेन्सी एएफपीलाई भने।

श्रमिक संघ र व्यवस्थापनबीच केही निर्णायक सहमति मात्र भएको छ। यसको मतलब हडतालको लहर अझै जारी रहन सक्छ। भर्खरै हडतालमा गएका रेलवे मजदुरहरूको युनियनले भनेको छ, ‘जे पनि सम्भव छ।’ अर्कोतर्फ हालैका वर्षहरूमा कठिन समय देखिएको जर्मनीको रासायनिक उद्योगमा आगामी महिनाहरूमा ज्यालाबारे वार्ताको नयाँ चरण सुरू हुँदैछ।