चन्द्रागिरीमा एनआरएनएको तीन दिने कार्यशाला गोष्ठी

चन्द्रागिरीमा एनआरएनएको तीन दिने कार्यशाला गोष्ठी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ३ दिने कार्यशाला गोष्ठी शनिवारदेखि चन्द्रागिरी हिल रिसोर्टमा सुरु भएको छ ।

संघको आगामी दुई वर्षको लागि कार्ययोजना बनाउने उदेश्यले हुन लागेको सो कार्यशालामा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी)बाट ७० भन्दाबढी प्रतिनिधिहरु सहभागी छन्।

काठमाडौं आउन नसकेका पदाधीकारी तथा सदस्यहरू भने भर्चुअल माध्यमबाट जाेडिएका छन्।

संघको अन्तराष्ट्रिय समन्वय परिषदको ९५ पूर्ण बैठक र कार्यशाला गोष्ठि संयुक्त रुपमा हुने संघले जनाएको छ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा हुने कार्यशालामा संस्थाका ८ विभागीय प्रमुखहरुले आ आफ्ना कार्ययोजना प्रस्तुत गर्नेछन्।

कार्यशालाको पहिलो दिन आज नेपाल सरकार र गैरआवासीयहरुको लगानीमा संचालन हुन लागेको १० अर्ब लगानी परियोजना, संघमा महिला सहभागिता, संस्थागत विकास, परोपकार तथा मानवीय सेवा, ज्ञान, सिप तथा प्रविधि, वैदेशिक रोजगार लगायतमा विषयगत रुपमा विभागीय प्रमुखहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

यसबाहेक एनआरएनए संस्थालाइ कसरी सञ्चालन गर्ने एजेण्डा तय गरिने र पुस्ता हस्तान्तरण कसरी गर्ने भनेर समेत गोष्ठीमा छलफल गरिने अध्यक्ष केसीले बताए। बैठक सोमवारसम्म चल्नेछ।