एनआरएनएले मधेश प्रदेशलाई पनि दियाे ‘मोबाइल ब्लड बस’

एनआरएनएले मधेश प्रदेशलाई पनि दियाे ‘मोबाइल ब्लड बस’

काठमाडौं। गैरआवासिय नेपाली संघ (एनआरएनए)ले मधेश प्रदेशलाई पनि मोबाइल ब्लड बस दिएकाे छ।

संघका अध्यक्ष डा. बद्री केसीसहितको टिमले मधेश प्रदेशका स्वास्थ्य मन्त्री विरेन्द्र सिंहमार्फत जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र नेपाल रेडक्रस सोसाइटी, धनुषाका अध्यक्ष नरेश प्रसाद सिंहलाई उक्त मोवाइल ब्लड बस हस्तान्तरण गरेका हुन्।

अध्यक्ष डा. केसीले प्रत्येक प्रदेशलाई नमुनाका रुपमा विदेशी टेक्नोलोजी प्रदान गरिएको बताउँदै हरेक प्रदेश तथा स्थानीय तहले यस्ता मोबाइल ब्लड बस आफैले व्यवस्था गर्न आवश्यक रहेको बताए।

उनले एनआरएनएले नमुनाकोरुपमा यस्ता परोपकारी कामहरु अझै गर्दै जाने प्रतिबद्धता समेत जनाए।

संघले गरेको यस किसिमको सहयोगले मधेश प्रदेशका बिरामीहरुको स्वास्थ्य उपचारमा ठूलो सहयोग मिल्ने अपेक्षा लिएको रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष सिंहले बताए।

उनले सहयोगका लागि संघप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा रहेको बताए।

संघका उपाध्यक्ष डा.हेमराज शर्माले एनआरएनएले हरेक प्रदेशमा एउटा मोबाइल ब्लड बस हस्तान्तरण गर्ने योजना रहेको बताउँदै अब बाकि रहेका कोशी र लुम्बिनी प्रदेशमा पनि छिट्टै हस्तान्तरण गरिने बताए।

यसअघि संघले बुधबार कोशी प्रदेशमा मोबाइल ब्लड बस प्रदान गरेको थियो ।

विदेशस्थित गैरआवासीय नेपालीहरुको सहयोगमा खरिद गरिएको बसको कुल लागत ७० लाख रहेको संघले जनाएको छ।

आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा छ।

एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत् चितवन रेडक्रस र दोस्रो पटक सुदुरपश्चिम प्रदेशलाई हस्तान्तरण गरिसकेको छ।

सबै प्रदेशमा पुर्याउने लक्ष्य संघले राखेको छ।

मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित मोबाइल ब्लड बस हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलगायत संघका महिला उपाध्यक्ष रोजिना प्रधान राई, युवा उपाध्यक्ष रोशन थापा, सल्लाहकार टिबी कार्कीलगायत संघका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रतिनिधीहरु तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।



No ads found for this position