एसियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त

एसियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त

काठमाडौँ । एसियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एसियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ।

एसियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिदै छन्।

अघिल्लो वर्ष १६ जुन देखि १६ जुलाइसम्म चीनमा आयोजना हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण चीनले आयोजना नगर्ने भनेपछि कतारले आयोजना गरेको हो।

शुक्रबारदेखि सुरु हुने एसियन फुटबलको यस महाकुम्भका खेलहरु २०२२ को विश्वकप फुटबल खेलिएका सात स्टेडियममा हुने छन्।

यस प्रतियोगितामा ताजकिस्तानले पहिलो पल्ट भाग लिदैछ भने हङकङ ५६ बर्षपछि एशियन कपमा कमब्याक गरेको छ। त्यस्तै इन्डोनेसिया र मलेसियाले २००७ पछि पहिलो पल्ट एसियन कप खेल्दै छन्। त्यस्तै यस प्रतियोगितामा सार्क देशबाट भारत मात्र सहभगी रहेको छ।

सहभागी २४ देशलाई ६ समुहमा विभाजन गरिएको छ। जसबाट हरेक समूहका विजेता र उपविजेता राउण्ड १६ मा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ४ देशले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने छन्।

एसियन कपको समूह ‘ए’मा आयोजक कतारसहित चीन, ताजकिस्तान र लेबनान रहेका छन् भने समूह ‘बी’मा अस्ट्रेलिया, उज्बेकिस्तान, भारत र सिरिया रहेका छन्।

त्यस्तै, समूह ‘सी’मा इरान, यूएई, हङकङ र प्यालेस्टाइन रहेका छन् भने समूह ‘डी’मा जापान, इन्डोनेसिया, इराक र भियतनाम रहेका छन्।

त्यसैगरी समूह ‘इ’मा दक्षिण कोरिया, मलेसिया, जोर्डन र बहराइन रहेका छन् भने समूह ‘एफ’मा साउदी अरेबिया, थाइल्याण्ड, किर्गिस्तान र ओमन रहेका छन्।

एसियन कपको उद्घाटन खेलमा आज एसियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक कतारले लेबनानको सामना गर्ने छ। यो खेल नेपाली समय अनुसार रति ९ : ४५ बजेदेखि सुरु हुनेछ।

अहिलेसम्म एएफसी एसियन कपको उपाधि सबैभन्दा बढी जापानले ४ पटक जितेको छ। जापानले १९९२, २०००, २००४ र २०११ मा जितेको थियो। त्यस्तै साउदी अरेबियाले ३ (१९८४, १९८८ र १९९६) पटक यो उपाधि जितेको थियो भने इरानले पनि ३ (१९६८, १९७२ र १९७६) पटक यो उपाधि जितेको छ।

त्यस्तै, दक्षिण कोरियाले १९५६ र १९६० मा गरि दुई पटक यो उपाधि जितेको छ भने इजरायलले १९६४ मा, कुवेतले १९८० मा, अस्ट्रेलियाले २०१५ मा, इराकले २००७ मा र कतारले २०१९ मा एसियन कपको उपाधि जितेका थिए।

अहिलेसम्म यूएई १९८४ र २००४ मा फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन भने भारत १९६४ र म्यान्मार १९६८ मा फाइनलमा पुगेर उपाधि जित्न चुकेका थिए।