पुनर्जन्म हुने भन्दै श्रीलंकामा आत्महत्या गर्न लगाइयो
कोलम्बो। श्रीलंकामा पूर्वजन्मको चाहनामा १ धर्मगुरुसहित ७ जनाले आत्महत्या गरेको दाबी गरिएको छ।
गत मंगलबार प्रहरीले याक्काला र महरागमा क्षेत्रबाट एक पुरुष र एक महिलाको शव फेला पारेको थियो। दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको अनुमान छ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरु दुवैले ४७ वर्षीय बौद्ध धर्मगुरु रुवन प्रसन्न गुणरत्नेमाथि विश्वास गरेको पत्ता लागेको थियो। उनले नै दुवैलाई आत्महत्या गर्न प्रेरित गरेपछि दुवैले विष सेवन गरी आत्महत्या गरेका थिए।
तर, प्रहरीले थप अनुसन्धानको सम्पूर्ण जिम्मेवारी सिआइडीलाई दिएको छ। अपराध अनुसन्धान विभाग (सीआइडी) ले अनुसन्धानलाई अगाडि बढाउँदै बौद्ध धर्मगुरु रुवन प्रसन्न गुणरत्नेले आफ्ना अनुयायीहरूलाई आत्महत्या गर्न प्रेरित गर्ने र त्यसो गर्दा फेरि जन्मिने बताएको पाइएको श्रीलंकाली समाचार संस्थाहरूले जनाएका छन्।
श्रीलंकाको महारागामा ओल्ड रोडस्थित गेस्ट हाउसमा ३४ वर्षीय पुरुषको शव फेला परेको छ।
मृतक थिवोलापुराको अम्बालाङ्गोडा क्षेत्रका बासिन्दा रहेको बताइएको छ। यसबाहेक याक्ला क्षेत्रको रफाल भट्टास्थित आफ्नै घरबाट २१ वर्षीया महिलाको शव फेला परेको छ। युवती विश्वविद्यालयकी विद्यार्थी थिइन्।
गत २८ डिसेम्बरमा बौद्ध धर्मगुरु रुवान प्रसन्न गुणरत्नेकाको शव महरागामाको गेस्ट हाउसमा भेटिएको थियो।
त्यसको केही दिनपछि गत ३१ डिसेम्बरमा रुवान प्रसन्न गुणरत्नेकाकी ३५ वर्षीया श्रीमती दुई छोरा र छोरीको शव मलाबेको कहानटोटास्थित आफ्नै घरमा भेटिएको थियो।
यसरी परिवारका सबै सदस्यले विष सेवन गरी आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
महिलाका दुई छोरा र एक छोरीको उमेर क्रमशः ९, ८ र ७ वर्ष थियो। गुणरत्नेले आफ्ना अनुयायीहरूलाई आत्महत्या गर्न प्रेरित गर्ने गर्थे र त्यसो गर्नाले फेरि जन्मिने बताउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।