राष्ट्रियसभा सदस्य निर्वाचन : भागबन्डा मिलाउन गठबन्धनमा रस्साकस्सी

राष्ट्रियसभा सदस्य निर्वाचन : भागबन्डा मिलाउन गठबन्धनमा रस्साकस्सी

काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिटको भागबन्डा मिलाउन सत्ता गठबन्धनभित्र रस्साकस्सी देखिएको छ।

सत्ता साझेदारहरू आ–आफ्नो अडानमा कायम रहेपछि भागबन्डा मिलाउन रस्साकस्सी देखिएको हो।

शनिबार अबेर रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको गठबन्धनको बैठकले भागबन्डामा सहमति जुटाउन सकेन।

त्यसअघि शनिबारै दिउँसो बसेको गठबन्धनको बैठक पनि निष्कर्षविहीन टुंगिएको थियो। भागबन्डामा सहमति जुटाउनकै लागि भनेर आइतबार बिहान फेर गठबन्धनका नेताहरू बालुवाटारमा जुटेका छन्।

‘भागबन्डामा सहमति जुटाउन अहिले छलफलमा बसेका छौं, बैठक चलिरहेको छ। आज केही निष्कर्ष आउला,’ बैठकमा सहभागी एक नेताले भने।

राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। तर, कांग्रेसले, १०, माओवादी केन्द्रले ५, नेकपा(एकीकृत समाजवादी)ले ३ जसपाले २ र सत्ता साझेदार अरू दलले एक–एक सिटमा दाबी गरेपछि सहमति जुट्न नसकेको हो।

गठबन्धनका प्रमुख दलले कांग्रेसलाई १०, माओवादीलाई ६, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट छुट्याउने तयारी गरेको छ।

३ सिट दाबी गर्दै आएको एकीकृत समाजवादी र एक सिट दाबी गर्दै आएको जनमत पार्टीले असन्तुष्टि जनाएका छन्।

चार दलले मात्रै भागबन्डा गरेको भन्दै नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा पनि असन्तुष्ट बनेका छन्।

लोसपाले भने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाबी नगरेको बताइएको छ।

कोसीमा कांग्रेस र माओवादीले १/१, मधेसमा कांग्रेस र जसपाले १/१, सुदूरपश्चिममा कांग्रेस र माओवादीले १/१ र लुम्बिनीमा कांग्रेस र माओवादीले १/१ सिट पाउने अनौपचारिक सहमति भए पनि बागमती, गण्डकी र कर्णालीमा टुंगो लाग्न बाँकी छ।

अहिले बसिरहेको बैठकबाट सहमति जुटाइने नेताहरूले बताएका छन्। टिआरसी विधेयक सहमतिमा टुंग्याउने सर्तमा एमालेसँग पनि साझेदारी गर्ने तयारी गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीले गरेको थियो।

तर, शनिबार बिहान बसकेको गठबन्धनको बैठकले एमालेसँग सहकार्य नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको थियो।

गठबन्धनभित्र सिटको भागबन्डा नटुंगिएकाले कांग्रेसले शनिबारका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्नेगरी सारेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेसमा सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।