इपिएस आन्दोलनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख राहत दिने

इपिएस आन्दोलनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख राहत दिने

काठमाडौं। सरकारले ललितपुरकाे बालकुमारीमा घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई राहतस्वरुप १०/१० लाख रूपैयाँ दिने निर्णय गरेकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने छ। सो बापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा गर्ने उनले बताइन्।

सरकारले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको उनले बताइन्।

साथै बैठकले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने निर्णय गरेकाे छ। मन्त्री शर्माका अनुसार भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बद्ध निकायलाई थप सतर्क, संयमित र प्रभावकारी बनाउने निर्णय भएकाे छ।

घटनास्थलमा गोली हान्न आदेश दिने प्रहरी अधिकृत, भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको सुरक्षा प्रमुख र नेपाल सरकारका इपिएस कोरिया शाखा प्रमुखलाई निलम्बन गरि छानबिनको प्रक्रिया अघि बढिसकेको समेत मन्त्री शर्माले जानकारी दिएइन्।

कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले शुक्रबार बालकुमारीमा गरेकाे प्रदर्शनका क्रममा भएकाे झडपमा अछामका २२ वर्षीय वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावतले ज्यान गुमाएका थिए।