इपिएस शाखा प्रमुख सुवेदीको जिम्मेवारी खोसियो

इपिएस शाखा प्रमुख सुवेदीको जिम्मेवारी खोसियो File Photo

काठमाडौं। ईपिएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ।

ईपिएस परीक्षामा अनुत्तीर्ण भएकाहरूको आन्दोलन भड्किदाँ दुईजना युवाको मृत्यु भएको थियो। यसअघि ईपिएसले कोरियाका लागि सिप बिल्डिङ क्षेत्रमा काम गर्न जानेहरूको परीक्षा लिएको थियो।

तर त्यसमा अनुतीर्ण भएका करिब २८ हजार विद्यार्थीहरूले अरु क्षेत्रका लागि फेरि परीक्षा दिन पाउनुपर्ने माग गरेका थिए। तीमध्ये यसअघि १८ जनाले अदालतमा मुद्दा हालेपछि ईपिएस शाखाले उनीहरूलाई मात्रै परीक्षा दिन व्यवस्था गरेपछि बाँकी परीक्षार्थीले शुक्रबार आन्दोलन गरेका थिए।

ईपिएस कार्यालय अघि भएको त्यो आन्दोलन भड्किएपछि प्रहरीको चोट लागेर दुईजनाको मृत्यु भएको थियो। शुक्रबार साँझ नै उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुतीर्ण भएका सबैलाई अर्को क्षेत्रका लागि पनि परीक्षा दिने व्यवस्था मिलाउन आदेश दिएको थियो।

शुक्रबारको घटनापछि शनिबार बिहानैदेखि श्रम मन्त्रालयका सबै विभागीय कर्मचारीहरू र मन्त्रीबीच त्यसबारे छलफल भइरहेको छ। मन्त्रालयका सचिव केबल भण्डारीका अनुसार छलफल चलिरहेको छ।

‘अहिलेका लागि उहाँलाई त्यो जिम्मेवारीबाट हटाइएको हो। अब कसलाई पठाउने र अदालतको आदेशलाई कसरी कार्यान्वयनमा लैजाने भन्नेबारेमा छलफल भइरहेको छ’ उनले भने ‘नहुने घटना भएको छ। त्यसप्रति हामी दु:खी छौं। अब जेजस्तो आदेश भएको छ त्यसैलाई कार्यान्वनमा लैजाने हो।’