बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित

बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित File Photo

काठमाडौं। दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर सरकारले त्यहाँ खटिएका डिएसपी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गरेको छ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सुरक्षा अधिकारीहरुको बैठकले घटनामा खटिएका डिएसपी उमेश जोशी र मन्त्री ज्वालाका पिएसओ सई बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको हो।

घटना भएको भोलिपल्ट आज बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सहभागी थिए। उक्त बैठकले डिएसपी र मन्त्री ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कोरियामा सिप बिल्डिङको लागि परीक्षा दिएर अनुत्तीर्ण भएकाहरुले अन्य विधामा पनि परीक्षा दिन पाउने मागसहित शुक्रबार बालकुमारीस्थित इपिएसको कार्यालयअगाडि प्रदर्शन गरिरहेका विद्यार्थीहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए।

विद्यार्थीले मन्त्रीको गाडीमा आगजनीगरेपछि प्रहरीले गोली चलाएको थियो। त्यसक्रममा दुई जनाको मृत्यु भएको थियो ।