इपिएस आन्दोलन : गृहले बनायाे छानबिन समिति

इपिएस आन्दोलन : गृहले बनायाे छानबिन समिति

काठमाडौं। ललितपुरकाे बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएकाे घटनाकाे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकाे हाे।

समितिमा आचार्यसहित ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल रहेका छन्।

गृहले समितिलाई सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन भनेकाे छ।

ललितपुरको बालकुमारीमा बुधबार भएको प्रदर्शनका क्रममा २२ वर्षीय वीरेन्द्र साह र २३ वर्षीय सुजन रावतकाे मृत्यु भएको थियाे।

घाइते रावतको उपचारको क्रममा किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो।

कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले शुक्रबार प्रदर्शन गरेका थिए।

सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार  गाडीमा आगजनी गरेका थिए। त्यसपछि भएको झडपका क्रममा उनीहरु घाइते भएका थिए। अनियन्त्रित भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो।