दोस्रो पुस्ताका हातमा ‘गैरआवासीय नागरिकता’
![दोस्रो पुस्ताका हातमा ‘गैरआवासीय नागरिकता’](https://www.prawaskhabar.com/wp-content/uploads/2023/12/girlsf-1.jpg)
काठमाडौं। नेपालमा जन्मिएर ३ महिनामै बाबुआमासँग विदेश पुगेकी आरिज्ञा रेग्मीले गैरआवासीय नेपाली नागरिकता लिएकी छिन्।
उनी सम्भवतः गैरआवासीय नेपाली नागरिकता लिनेमध्ये दोस्रो पुस्ताकी पहिलो ‘नेपाली चेली’ हुन्।
अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी आरिज्ञा गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव डा. ज्ञानेन्द्र रेग्मीकी छोरी हुन्।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रेग्मीका बावुछोरीलाई नागरिकता प्रदान गरेका हुन्।
सरकारले गैरआवासीय नेपालीलाई गत अक्टोबरदेखि गैरआवासीय नागरिकता प्रदान गर्न सुरू गरेको थियो।
नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ।
विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ।
संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो।
सरकारले ७७ वटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाएको छ।