सरकारले धेरै भाउ दिँदा एनआरएन मात्तिए : उपेन्द्र महतो

सरकारले धेरै भाउ दिँदा एनआरएन मात्तिए : उपेन्द्र महतो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले पदलोभी अभियन्ताका कारण संघमा विभाजन आएको बताएका छन्।

संघ एउटा विशुद्ध सामाजिक अभियान भएका कारण यसमा पदकोे लोभ गर्न नहुने उनी बताउँछन्।

‘एनआरएनए त एउटा अभियान हो। यसमा त्यस्तो लुछाचुँडी गर्नुपर्ने विषय छैन। विदेशमा बस्ने नेपालीको हित र उनीहरूलाई मातृभूमिको समृद्धिसँग जोड्न चलाइएको एउटा विशुद्ध अभियान हो। अभियानलाई सफल पार्न संस्था बनाइएको हो। पदकै लागि तछाड्मछाड् गर्न हुँदैन,’ उनले प्रवास खबरसँग भने।

यो अभियानमा विदेशमा बस्ने सबै नेपाली अट्ने महतोले बताए। संस्थासँग जोडिएका व्यक्तिहरू र पदमा बसेकाहरूको मात्र नभइ विदेशमा बस्ने ७० लाख नेपालीको साझा संस्था एनआरएनए भएको उनको दाबी छ।

‘हामीले संस्थाको परिकल्पना पनि त्यसरी नै गरेका थियौँ। यो संस्थामा काेही काखा–पाखा हुँदैन। यो अभियान हो। यहाँ सबै अट्न सक्छन्,’ उनले भने।

नेपाल सरकारले एनआरएनलाई धेरै भाउ दिएका कारण एनआरएनएका प्रतिनिधिहरू मातिएकोसमेत उनले बताए।

‘नेपाल सरकारले यति धेरै मान सम्मान दियो कि त्यो भारी थाम्न नसकेर हामी थिच्चियौं। हामीलाई मान–सम्मान बढी भयो,’ उनले संघ गुट उपगुट बनेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘यही हालत रहने हो भने हामीबाट सबै टाढिन्छन्। हाम्रो साथमा कोही हुँदैनन्। त्यसैले सबै मिलेर संस्था बचाउनपर्छ।’

‘तपाईँ त संस्थापक अध्यक्ष, संघभित्र अहिले देखिएका विवादलाई कसरी हेरिरहनुभएको छ?’ भन्ने प्रवास खबरको जिज्ञासामा महतो भन्छन्, ‘सानातिना स्वार्थ त्याग्नुपर्छ। अहंकार, घमण्ड बढ्यो तर यी कुरा क्षणिक हुन्। तितामिठा कुरा बिर्सिएर अघि बढ्नुको विकल्प छैन। यो अभियानलाई बचाउन पर्छ।’

एनआरएनएमा आफूले अहिलेसम्म कुनैपनि व्यक्ति नराम्रो नपाएको बताए। ‘संस्थामा कोही नराम्रो छैनन्। मैले अहिलेसम्म नराम्रो भेटाएको पनि छैन। सानातिना स्वार्थले मात्र बिग्रिएको हो। वास्तवमा सबैले देशलाई माया गर्छन्। देशको समृद्धी चाहेका छन्,’ उनले भने।

पदकै लागि अभियान र संस्थालाई धरासयी बनाउन नहुने उनको तर्क छ।

‘संस्थामा को आउँछ भन्ने फरक पाटो हो। अध्यक्ष, उपाध्यक्ष को बन्छ, को आउँछ गौणका कुरा हुन्,’ उनले भने।

 



No ads found for this position