‘एनआरएनएकाे विवाद मिलाउने’ भन्दै परराष्ट्रमन्त्रीले डाकेको छलफलमा शेष घले गएनन्

‘एनआरएनएकाे विवाद मिलाउने’ भन्दै परराष्ट्रमन्त्रीले डाकेको छलफलमा शेष घले गएनन् फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई एकजुट बनाउने भन्दै परराष्ट्रमन्त्री एनपी साउदले बोलाएको छलफलमा पूर्व अध्यक्ष शेष घले सहभागी भएनन्।

मन्त्री साउदले ‘एनआरनएको विवाद मिलाउने’भन्दै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसहित पूर्व अध्यक्षहरू जीवा लामिछाने, शेष घलेलगायतलाई मन्त्रालयमा बोलाएका थिए। तर, मन्त्रीले बोलाएको उक्त बैठकप्रति नेपालमै रहेका घलेले मतलब नै नराखेको स्रोतले बतायो।

आइतबार भएको छलफलमा संस्थापक अध्यक्ष डा. महतो र पूर्व अध्यक्ष लामिछाने मात्र सहभागी थिए।

स्रोतका अनुसार मन्त्री साउदले घलेलाई पटक–पटक छलफलमा आउन अनुरोध गरेका थिए। ‘धेरै पटक रिक्वेस्ट आएको थियो। तर, उहाँले मतलब नै राख्नु भएन,’ स्रोतले भन्यो।

परराष्ट्रमन्त्री साउदले भने घलेको युरोप उड्ने तालिका रहेकाले बैठकमा सहभागी नभएको बताए। ‘उपेन्द्र महतो र जीवा लामिछाने आउनु भएको थियो। शेष घलेजी चाँही युरोप उड्ने तालिका रहेकाले विमानस्थलतिर लाग्नु पर्ने भएकाले उपस्थित हुनसक्नु भएन,’ मन्त्री साउदले भने।

एनआरएनएलाई कसरी एकजुट बनाउन सकिन्छ भनेर आफूले पूर्व अध्यक्षहरूलाई राखेर छलफल गरेको उनको भनाइ छ।

‘अहिले एनआरएनएमा विवाद देखिएका छन्। विवादलाई कसरी मिलाउन सकिन्छ भनेर पूर्व अध्यक्षहरूसँग छलफल राखेको हुँ,’ उनले भने। छलफलमा भएका अन्य विषयमा भने उनले बताउन चाहेनन्।

संस्थापक अध्यक्ष महतोले भेटमा खासै केही कुरा नभएको बताए।

‘उहाँले बोलाउनु भएको थियो। त्यस्तो खासै केही भएन। मिलाएर जानुपर्छ भन्ने उहाँको कुरा थियो। मैले पनि साना–तीना कुरालाई बिर्सिएर जानुपर्छ भनेको थिएँ,’ उनले भने।

 



No ads found for this position