प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिनेछ : प्रधानमन्त्री
विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने जानकारी दिएका छन्।
शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने र यसले सरकारको कामको गतिलाई असर नगर्ने बताए।
मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ ढंगले काम गर्ने जानकारी पनि दिए।
आउँदो मंगलबार अर्थात १० पुसमा आफू प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुन लाग्दा उनले एकवर्षमासुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको दाबी गरे।
‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको एक वर्ष पुग्दै छ। योबीचमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।