पाकिस्तानको सैन्य शिविरमा हमला, २३ सैनिकको मृत्यु

पाकिस्तानको सैन्य शिविरमा हमला, २३ सैनिकको मृत्यु

काठमाडौं। पाकिस्तानको उत्तर पश्चिममा सुरक्षाकर्मीहरूको एक शिविरमा भएको विद्रोही हमलामा परेर कम्तीमा २३ जना सैनिक मारिनुको साथै दर्जनौं घाइते भएका छन्।

पाकिस्तानी सेनाले खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको दरबान क्षेत्रमा सुरक्षा बलमाथि आत्मघाती हमला भएको जनाएको छ।

अफगानिस्तानतर्फको सीमा नजिकै पर्ने मंगलबार विस्फोटक पदार्थहरू राखिएको एउटा गाडी सैन्य भवनमा जोताइएपछि यो घटना भएको बताइएको छ।

पाकिस्तानी तालिबानसँग सम्बद्ध एक लडाकु समूहले हमलाको जिम्मेवारी लिएको छ।

हमला भएको प्रहरी परिसरलाई पाकिस्तानी सेनाले आफ्नो शिविरको रूपमा प्रयोग गर्दै आएको थियो।

गाडी जोतिन आउनुअघि कैयौं विद्रोहीहरूले परिसरभित्र प्रवेश गर्ने असफल प्रयास गरेको पाकिस्तानको सेनाले जनाएको छ।

हमलाकारी समूहले त्यसपछि विस्फोटक पदार्थहरूले भरिएको एक ट्रक परिसरको पर्खालमा जोताइदिएका थिए।

त्यसलगत्तै भएको आत्मघाती बम हमलामा उक्त भवन ध्वस्त हुनपुगेको सेनाले निकालेको विज्ञप्तिमा भनिएको छ।

उक्त सैन्य परिसरभित्र भण्डारण गरिएको विस्फोटक पदार्थसमेत पड्किएको हुनसक्ने आशंका गरिएको छ।

एक अधिकारीले सुतिरहेको अवस्थामा कैयौं मानिसहरू मारिएको बताएका छन्।

सेनाका अनुसार यो घटनामा ६ जना आक्रमणकारीहरू समेत मारिएका छन्।

लगत्तै त्यस क्षेत्रमा गरिएको सैन्य कारबाहीमा २७ विद्रोही लडाकुहरू मारिएको सेनाले दाबी गरेको छ।

यस वर्षको सुरूतिरबाट देखा परेको तेहरीक जिहाद–ए–पाकिस्तान (टिजेपी) ले आफ्ना सदस्यहरूले यो हमला गरेको दाबी गरेको छ।

खासगरी अफगानस्थानतर्फको सीमानजिकै पर्ने पाकिस्तानी भू–भागमा लडाकु समूहहरूको हमला बढ्दो क्रममा देखिन्छ।