‘तल्लो बाटो’ अमेरिका हिंडेका दर्जनौं रोल्पालीहरू दुबईमै अलपत्र

‘तल्लो बाटो’ अमेरिका हिंडेका दर्जनौं रोल्पालीहरू दुबईमै अलपत्र फाइल फोट : बर–दुबई यूएई

काठमाडौं। मानव—तस्करलाई लाखौं तिरेर महिनौं जोखिमपूर्ण यात्रापछि मेक्सिको हुँदै ‘अमेरिका छिर्ने सपना’ बोकेर हिँडेका दर्जनौं रोल्पाली दुबईमा अलपत्र परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ र इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँ दिल्लीबाट ‘सेटिङ’मार्फत् दुबई उत्रिएका ५५ जनाभन्दा बढी रोल्पालीहरू दुबईमै अलपत्र छन्। नेपाली दलाललाई मोटो रकम बुझाएर दुबई गएका उनीहरू ‘ब्राजिल उड्ने दिन’को ‘सेटिङ’ नमिल्दा खाडीमै अड्किएको महिनौं भइसक्यो।

‘तल्लो बाटो’बाट अमेरिका जान खोजिरहेकाहरू न घर फर्किन सकेका छन्, न अघि बढ्न नै। दुबई उड्नुअघि लाखौँ रकम उठाएर ‘१५ दिनभित्र ब्राजिल उडाउँछु’ भनेका दलालले तीन महिनादेखि अलपत्र छाडेपछि रोल्पाका २५ वर्षीय राजेन्द्र घर फर्किने सुर उपाय खोजिरहेका छन्।

‘अमेरिका पठाउने एजेन्टलाई पहिलो चरणमा सात लाख दिएर दुबई आएको तीन महिना भइसक्यो। मजस्ता धेरै साथीभाइलाई एजेन्टले यता न उता पारेको छ। हामीहरू घर फर्किने कि यतै बस्ने भनेर तनावमा छौँ,’ उनले भने।

अमेरिका जान भनेर हिँडेका राजेन्द्रजस्ता दर्जनौं रोल्पाली युवाहरू दुबईभर छरिएका छन्। आफूहरू दलालको जालोमा जेलिँदा दुबईमै हराइरहेको बताउँछन् रोल्पाकै कृष्ण। उनी भदौको अन्तिमतिर दाङका एक मानव तस्करका सहयोगीलाई सात लाख तिरेर भिजिट भिसामा दुबई उडेका थिए।

मानव तस्कारले ‘रोल्पा र रुकुमबाट अमेरिका जाने सोच’ बनाएका अन्य युवाभन्दा अघि नै मेक्सिको पुर्‍याउने बताएपछि उनी तीन महिनादेखि दुबईमै छन्।

‘मेरो गाउँका सबै साथीभाइहरू अमेरिका गइरहेका छन्। त्यसपछि मलाई पनि रहर लाग्यो, मैले पनि अमेरिका गइसकेको एकजना साथीको सल्लाहमा दङ्गाली एजेन्टलाई ११ लाख बुझाएर आएको हुँ,’ दुबईमा अलपत्र परेका कृष्णले भने, ‘दलालले त मलाई अरुभन्दा अघि पठाउँछु भनेको थियो। तर, अहिलेसम्म पठाउनै सकेको छैन।’

रोल्पा, रुकुम र दाङका धेरै युवाहरूले ‘अमेरिकी सपना’ बोकेर दिनदिनै गाउँ छाडिरहेका छन्। उनीहरू चर्को मूल्यामा झण्डै ५० देखि ८० लाखसम्म ऋण काढेर ‘दिल्ली, दु्बई, टर्की, ब्राजिल’ उड्छन्। ती मध्येका केहि युवाहरूले कोलम्बिया—पानामाको डरलाग्दो जंगल हिँड्दै मेक्सिको सीमापार गरिसके। उनीहरूकाअनुसार कति हिँडिरहेका छन्, कति महिनौँदेखि दुबईमै अल्झिएका छन्।

‘भिजिट भिसामा यहाँ आएका मेरो गाउँका तीनजना भाइ मसितै बसिरहेका छन्,’ दुबईमा रहेका रोल्पाका ललित घर्तीले भने, ‘एजेन्टले उनीहरूबाट धेरै पैसा लगेर दुबईमै राखेको छ। यीनीहरूसँग अब खानेबस्ने पैसा पनि छैन१ पैसा जति सबै एजेन्टले लगेछ, उडाउँदैन पनि। केहि दिन पर्ख—पर्ख मात्रै भन्छ।’

दुबईस्थित रोल्पा सेवा समाजका एक पदाधिकारीले बताएअनुसार हिजोआज जताततै रोल्पाली भेटिएका हुन्। ‘भिजिट भिसा’मार्फत् दुबई छिरेका उनीहरूले सबैजसोले रूस वा अमेरिका उड्ने बताउँछन्।