पूर्णबहादुर खड्काकाे स्वीकार– कांग्रेसकै कारण एनआरएनएमा विभाजन आयो

पूर्णबहादुर खड्काकाे स्वीकार– कांग्रेसकै कारण एनआरएनएमा विभाजन आयो जनसम्पर्क समितिले दोहामा आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रम

काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विभाजन आउनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्।

कांग्रेसका नेतासमेत रहेका खड्काले पार्टीको प्रवास विभाग संगठन नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको एक कार्यक्रममा एनआरएनए तितर–बितर हुनुमा नेपाली कांग्रेसको हात रहेको बताएका हुन्।

कतार सरकारको निमन्त्रणमा दोहा पुगेका उनले पार्टी प्रतिनिधिसँगकाे अन्तरक्रियामा  भने, ‘जब एनआरएनएको चुनाव हुन्छ कांग्रेसी साथीहरू, कांग्रेससँग जोडिएका ‘डेमोक्रयाट’ भनिएकाहरू जहिल्यै पनि तितर–बितर हुनुहुन्छ।’

कांग्रेसभित्रकै पदाधिकारी एनआरएनएमा खेल्ने गरेकाले विभाजनको अवस्था सृजना भएको जिकिर उनले गरे।

‘प्रवासमा रहेका कांग्रेसीहरू एक–आपसमा नमिल्दा एनआरएनए चुनावमा डेमोक्रयाटहरु कमजोर भएका हुन्,’ उनले भने।

एनआरएनएको निर्वाचनमा ७५ प्रतिशत ‘डेम्रोक्रायट’ भोट छ भनेर चुनावमा होमिए पनि परिणाम उल्टो किन आएकोे भन्दै उनले प्रश्न समेत गरे।

‘जति भोट घटेपनि ३ सय ४ सयभन्दा तल भोट झर्दै–झर्दैन भनेर जहिले औंला भाँच्ने (औंला गन्ने) ‘डेमोक्रयाट’हरूले जब चुनाव हुन्छ आफैले भाँचेको औंला आफै‌ काट्ने ! यो साँच्चिकै भएको छ,’ उनले भने।

व्यक्तिगत स्वार्थ र घमण्डका कारण चुनावका बेला कांग्रेसीहरूबीच विभाजन आउने गरेको उनको भनाइ छ।

‘एनआरएनएसँग जोडिएका नेपाली कांग्रेसमा आवद्ध सबै साथीहरुले गम्भिर भएर सोच्न जरुरी छ। व्यक्तिगत महत्वकांक्षा हुनुपर्छ। तर, महत्वकांक्षाको पनि सीमा हुनुपर्छ। सीमालाई महत्वकांक्षाले जित्यो भने मान्छेले परिवार, समाज, साथी, पार्टी र संगठन बिर्सिन्छ। यो रोग कांग्रेसको राजनीतिमा छ, एनआरएनएमा आवद्ध तपाईँहरूमा पनि छ।’

एनआरएनएको यसपटकको चुनाव आफूलाई निकै रमाइलो लागेको खड्काले बताए।

कांग्रेसी उम्मेदवार ‘ग्राउण्ड लेवल’मा नभइ सतहीरुपमा लागेकाले चुनावको परिणाम आफू अनुकुल नआएको उनको भनाइ छ।

‘चुनावको नतिजा जुन आयो। त्यो परिणामले म आश्र्चय भएको छैन। किनभने त्यस्तै हुन्छ भन्ने थाहा पाएर मैले दुई महिनाअघिदेखि नै सचेत बनाउँदै आएको थिएँ। एनआरएनएको चुनाव यस्तै हुन्छ भन्ने मलाई आंकलन थियो,’ उनले भने।

उनले प्रवासका कांग्रेसीहरू एक–आपसमा मिलेर जानुको विकल्प नरहेको बताए। एनआरएनएमा आवद्ध कांग्रेस निकटका व्यक्तिहरूबीच विभाजन ल्याउनमा पार्टी नेतृत्वको दोष भए आफूहरु पनि सुध्रिन तयार रहेको उनले प्रतिबद्धता जनाए।

खड्काले एनआरएनएको चुनाव हार्दैमा आफूहरूले धेरै केही नगुमाएको बताउँदै अब सुध्रिन र सच्चिन आवस्यक रहेको बताए।

‘तपाईँहरू सुध्रिन पर्‍यो। यसका लागि सबैभन्दा पहिला अहंकार, घमण्ड, व्यक्तिगत स्वार्थ, धनको स्वार्थ त्याग्नु पर्छ,’ उनले भने, ‘अब उप्रान्त मलगायत हामी सबै इमान्दार हुन जरुरी छ। सुध्रिने र सच्चिने संकल्प गर्न जरुरी छ। त्यो दिशामा हामी देशमा बसेकाहरू र तपाईँहरूबीच भावनाको विकास हुनुपर्छ।’

गत अक्टोबरमा भएको एनआरएनएको निर्वाचनमा कांग्रेकोतर्फबाट उम्मेदवार बनेका महेश श्रेष्ठ तेस्रो भएका थिए। तीन जनाबीचमा भएको प्रतिष्पर्धामा एमाले निकट मानिने डा. बद्री केसी विजयी भएका थिए।