जहाज किन्न निगमका अध्यक्ष र मन्त्रीको गहिरो दोस्ती

जहाज किन्न निगमका अध्यक्ष र मन्त्रीको गहिरो दोस्ती

काठमाडौं। रित्तिदैं गएको ढुकुटी र अर्बौं ऋणको भारी बोकिरहेको नेपाल वायु सेवा निगमको जहाज किन्ने निर्णयमा कार्यकारी अध्यक्ष र संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको बलियो गठजोड रहेको भित्रैका कर्मचारीहरूले आरोप लगाएका छन्।

मन्त्री बन्नासाथ निगमको ‘रुपान्तरण’को नारा लगाउँदै कहिले विमानस्थलको ‘अनुगमन’ त कहिले ‘जहाजभित्र’ छिरेर सिटहरू हेर्दै आएका मन्त्री किराँतीले पटक-पटक जहाज थप्ने रटान लगाउँदै आएका थिए। अन्तत: पैसाको जोहो गर्ने अर्थमन्त्रालयको सहमतिबिनै निगमले दसैंको विदा सुरु हुनेबेलामा ३ वटा जहाज खरिद गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गर्‍यो।

यद्यपि निगमलाई जहाज वा सम्पत्ति किनबेचको अधिकार भने ऐनले नै दिएको सुविधा हो। तर त्यसका लागि आन्तरिक तयारी र स्रोतको जोहो गर्नका लागि उसको ‘सञ्चालक समिति’ले निर्णय वा सहमति जनाउनुपर्छ। किनकि अन्तिममा नपुगेको पैसा जोहो गरिदिने वा टाट पल्टिन लाग्दा ऋणका लागि ‘साक्षी’ बसिदिने भनेको त अर्थमन्त्रालय नै हो।

सरकारी हवाइ कम्पनी भएका कारण सञ्चालक समितिमा अर्थमन्त्रालयका प्रतिनिधि (सहसचिव) पनि सदस्य रहन्छन्। जहाज किन्नका लागि बसेको सञ्चालक समितिको बैठकमा अर्थमन्त्रालयका प्रतिनिधि सहसचिव धनीराम शर्माले लिखितरुपमै त्यसमा असहमति जनाएका थिए।

तर त्यसको केही समयपछि निगम आफैले ‘संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती ज्यूको विशेष निर्देशन’मा भन्दै ३ जहाज खरिद गर्नका लागि टेन्डरको सूचना जारी गर्‍यो।

मन्त्री किराँती आउनुअघि पनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी जहाज किन्ने दौडधूपमै थिए। जहाजका इन्जिन भाडामा लिनका लागि पनि हप्तौंसम्म विदेश घुमेर आउने अध्यक्ष अधिकारीले मन्त्री सुदन किराँती आएपछि ‘दुहुनो गाई’ नै पाए।

सुरुसुरुमा मन्त्री किराँती र अध्यक्ष अधिकारीबीच अलिअलि ठाकठुक परे पनि मन्त्रीले एउटा स्पष्टिकरण सोधेपछि भने उनीहरूको सम्बन्धमा सुधार आयो। त्यो सम्बन्ध यहाँसम्म गहिरो हुन पुग्यो कि अहिले एकले अर्काको कुरै काट्दैनन्। बरु मन्त्रीले निगमका अध्यक्षलाई काखी च्यापेपछि हवाइ क्षेत्रको नियामक निकाय नागरिक उड्ड्यन प्राधिकरणका महाप्रवन्धक भने बाहिरै छुटे। त्यसपछि यी दुई निकायबीच फेरि टकराव उत्पन्न हुन थालेको छ।

यहीबीचमा मन्त्री र अध्यक्षको बलियो साँठगाँठमा जहाज किन्ने निर्णय भएपछि त्यसमा सरकारकै कतिपय मन्त्री र सांसदहरूले पनि प्रश्न उठाइरहेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पनि त्यसमा चासो देखाएको छ। तर, अहिलेसम्म समितिले कुनै ‘एक्सन’ लिएको छैन।

‘त्यसबारे हामीलाई पनि चासो त छ तर अहिले समितिको बैठक नबसेका कारण हामीले त्यसबारेमा छलफल गर्न सकेका छैनौं’, समितिका सभापति राजकिशोर यादव भन्छन्, ‘अहिले काठमाडौं बाहिर नै छु। चाँडै काठमाडौं आएर त्यसबारे समितिमा नै छलफल हुन्छ।’

निगमका कर्मचारीहरूका अनुसार मन्त्री र अध्यक्षको मिलोमतोका कारण निगम सुधार्ने योजनाहरू भने अघि बढ्न सकेका छैनन्। मन्त्री किराँतीले भनेजस्तै निगमको सुधारको काम होइन, बरु अहिले यस्तै खरिदबिक्रीमा बढी केन्द्रित हुन थालेका छन्।

‘यो पनि उहाँहरूकै निर्णय हो’ एकजना कर्मचारी भन्छन्, ‘अध्यक्षले भनेको कुरा मन्त्रीज्यूले नाइँ भन्नुहुन्न। मन्त्रीले भनेको कुरा अध्यक्षले नमान्ने कुरै भएन।’

तर निगमले भने सरकारलाई आर्थिक भार नपार्ने र आफ्नै स्रोतबाट जहाज खरिद गर्ने दाबी गरिरहेको छ। निगमकाअनुसार करिब ३ अर्बमा किन्ने भनिएका यी तीन जहाजको मूल्य एकैपटक भने चुकाउनु पर्दैन। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार कम्तीमा ६-६ महिनाको अन्तरमा किस्ता बुझाउँदा पनि हुन्छ।

तर निगमले अहिले आफ्नो ४८ अर्ब ऋणको किस्ता नै भनेको समयमा चुकाउन सकेको छैन।

रित्तिदों ढुकुटी, ऋणको भारी

निगमको ढुकुटीमा अब जम्मा ३ अर्ब ७५ करोड २१ लाख रुपैयाँमात्रै मौज्जाद छ।

अरु सम्पत्ति-जहाजहरू बाहेक)चाहिँ ९ अर्ब ६५ करोडजति छ त्यस्तै देशभरिका २३ ठाउँमा रहेका उसको जमिनको मूल्यङ्कन बजार मूल्यअनुसार लगभग ७ अर्बजतिको छ।

सोल्टी होटलमा निगमको नाममा रहेको १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता शेयर बेचेर निगमले त्यसलाई विमान खरिदमा लगाउन सुझाएको छ। अहिलेको बजारमूल्यअनुसार त्यो शेयरको मूल्य कम्तीमा ४ अर्ब ५७ करोड ७८ लाख २८ हजारजति हुन आउँछ।

अहिले निगमले ग्राउण्ड ह्यान्डलिङमार्फत वर्षमा लगभग ३ अर्ब १८ करोड ४० लाखजति कमाउँछ। तर, पाएको अधिकार र नियमन गर्न नसक्दा उसले त्रिभुवन विमानस्थल प्रयोग गर्ने २७ अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरूबाट पैसा उठाउन सकेको छैन। यो सबै काम व्यवस्थितरुपमा गर्न सक्यो भने निगमले वर्षमै कम्तीमा वार्षिक २७ करोड २४ करोड बराबरको आम्दानी गर्नसक्छ।

कमजोर व्यवस्थापनका कारण वर्षेनी करोडौं रकम गुमाइरहेको निगमसँग अब प्राधिकरणले त्यो अधिकार पनि खोस्दैछ।

नेपालको आन्तरिक हवाई उडानका लागि उपयुक्त हुनेखालका ट्वीनेटर बिमान निगमले २०२७ सालमा किनेको थियो। त्यो बेला पटक–पटक गरी किनेका १२ वटा ट्वीनेटरमध्ये अहिले २ वटामात्रै सञ्चालनमा छन्। एउटाचाहिँ ग्राउण्डेड गरेर निगमले त्यसकै पार्टपूर्जाहरू साटफेर गर्दै बाँकी दुई जहाज उडाउँछ।

५३ वर्ष पुराना जहाज बल्लतल्त उडाइरहेको निगमले अन्तर्राष्ट्रिय उडान भर्ने ठूला जहाजहरू पनि कहिलेकाहिँमात्रै उड्छन्। त्यो पनि जहाँ ल्याण्ड भयो त्यहीँ बिग्रिन्छन्।

विभिन्न सरकारी निकायहरूसँग लिएको ऋणको ब्याज चुकाउँदा चुकाउँदै आफै रित्तिन थालेको निगमले जहाज थप्ने निर्णय र आफैं पैसा तिर्ने दाबीलाई भने सम्बन्धित क्षेत्रका जानकारहरूले विश्वास गरिरहेका छैनन्।

यो पनि पढ्नुहोस्

निगमले जहाज किन्नै नहुने?

आपसी टकराव र खिचातानीले ‘राष्ट्रिय ध्वजा’ धुजा-धुजा

वायु सेवा निगमलाई बिझाइरहेको एउटा काँडा