विपिन जोशी अझै अज्ञात

विपिन जोशी अझै अज्ञात File Photo

इजरायल। हमास युद्धविरामको तेस्रो दिन थप १४ जना इजरायली र तीन जना अन्य देशका बन्धकलाई हमासले छाडेको छ भने इजरायलले पनि थप ३९ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ।

मुक्त हुनेमा चार वर्षकी एक बालिका पनि छन्। उनी अमेरिकी र इजरायली दुवै नागरिकता भएका व्यक्तिकी सन्तान हुन्।

यसैबीच हमासले इजरायलसँगको युद्धविरामको समय बढाउन खोजिरहेको बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि बन्धकहरू घर फर्कन पाउन् भनेर उक्त युद्धविरामलाई थप लम्ब्याउन चाहेको बताएका छन्।

हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थासमेत अहिलेसम्म अज्ञात रहेकाे बीबीसीले जनाएकाे छ।

यसैबीच हमासले पछिल्लो युद्धमा उत्तरी गाजा ब्रिगेडका प्रमुखसहित आफ्ना चार जना सैन्य कमान्डरहरू मारिएको घोषणा गरेको छ।

इजरायलले ती कमाण्डरहरूलाई यस सङ्घर्ष विरामअघि निशानामा पारिएको जनाएको छ।

यसअघि दोस्रो चरणमा शनिवार ढिलो गरी हमास नियन्त्रणमा रहेका थप १३ जना इजरायली र चार जना थाई बन्धकहरू रिहा गरिएका थिए।

इजरायलले समेत थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएको छ।

यसअघि इजरायलले गाजामा पठाइएका मानवीय सहायता सामग्री रोकेको भन्दै हमासले उनीहरूलाई मुक्त गर्न ढिलाइ गरेको थियो।

कतार र इजिप्टको मध्यस्थतापछि उनीहरूलाई मुक्त गर्न सहमत भएको हमासले उनीहरूलाई रेडक्रससमक्ष हस्तान्तरण गरेको हो।

कतारले मध्यस्थता गरेको इजरायल-हमासबीचको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेबर सङ्ख्यामा इजरायलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ।

द्विपक्षीय सहमतिअनुसार शुक्रबार हमासले १३ इजरायली, १० थाई र एक फिलिपिनोसहित २४ बन्धकलाई मुक्त गरेको थियो भने इजरायलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो। अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएर लगेको थियो।

त्यसयता इजरायलले गरेको हमलामा १४ हजार ५०० जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।