नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने – अब सरकार नयाँ ढंगबाट अघि बढ्छ
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारबाट नयाँ कार्यकक्षको प्रयोग गरेका छन्। पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन्। २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्ष प्रयोग गर्दै उनले अब सरकार नयाँ ढंगले अघि बढ्ने बताएका हुन्।
सिंहदरबारको पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने बताएका हुन्।
पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै प्रधानमन्त्रीले अब ताजा भई काम गर्न पाएको जानकारी दिए।
‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ। यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको महसुस गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्ष तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन्। यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए।
माघ २०७७ सालमा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए।