साउदीमा २५ जना नेपालीले पाए ‘एक्जिट भिसा’

साउदीमा २५ जना नेपालीले पाए ‘एक्जिट भिसा’ File Photo

काठमाडौं। वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर विभिन्न समस्या झेलिरहेका थप २५ जना नेपाली श्रमिकले ‘एक्जिट भिसा’ पाएका छन्।

साउदीस्थित नेपाली राजदूतावासको समन्वयमा त्यहाँको अध्यागमन कार्यालयले हुरुब कम्पनी छोडेर भागेका र इकामा बस्ने अनुमति सकिएका वा नपाएका उनीहरुलाई एक्जिट भिसा दिएको हो।

गैरकानुनी रुपमा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्कन दिने नीतिअनुरुप साउदी अध्यागमनले थुप्रै विदेशी श्रमिकलाई एक्जिट भिसा दिइरहेको छ। यसै क्रममा दुई हजार ६०० भन्दा बढी नेपालीहरुले विभिन्न मितिमा पटक–पटक गरी एक्जिट भिसा पाइसकेको दूतावासले जनाएको छ।

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने र यसबापत कुनै पनि निकायमा कुनै शुल्क बुझाउनु नपर्ने दूतावासले जनाएको छ। तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

एक्जिट भिसामा भएको राहदानी/ट्राभल डकुमेन्ट नम्बर र आफूसँग भएको राहदानी/ट्राभल डकुमेन्ट नम्बर एउटै भए/नभएको यकीन गरेर मात्र हवाई टिकट खरिद गर्न पनि दूतावासले आग्रह गरेको छ।

दूतावासले इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरूब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ गरिदिने प्रस्ट पारेको छ।

त्यसैगरी, कुनै केस वा जरिवाना छ भने त्यसको छिनोफानो नभएसम्म एक्जिट भिसा नलाग्ने र भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन कार्यालयसँग मात्रै हुने दूतावासले प्रस्ट पारेको छ।

अप्ठेरोमा परेका नेपालीहरुले आवश्यक जानकारी र सहजीकरणका लागि रियादस्थित दूतावासको कार्यालय र जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा बिदाको दिनबाहेक कार्यालय समयभित्र सम्पर्क राख्न सकिने जनाइएको छ।



No ads found for this position