विश्वकप फाइनल : नरेन्द्र मोदी स्टेडियममा पिचको ठूलो परीक्षा

विश्वकप फाइनल : नरेन्द्र मोदी स्टेडियममा पिचको ठूलो परीक्षा

काठमाडौं- अहमदाबादको नरेन्द्र मोदी स्टेडियम आफ्नो इतिहासको सबैभन्दा ठूलो म्याच आयोजित गर्न गइरहेको छ।

आइतबार एकदिवसीय विश्वकपको फाइनल खेल आयोजक भारत र अस्ट्रेलियाबीच यही मैदानमा हुनेछ।

सवा लाख दर्शकको क्षमता भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियमको पिचको पनि पहिलो ठूलो परीक्षण हुनेछ।

यसअघि मोटेरा नामले लोकप्रिय यो स्टेडियममा कैयौं महत्वपूर्ण म्याचहरू भइसकेका छन्। जसमध्ये २०११ विश्वकपको क्वार्टर फाइनल पनि सामेल छ। संयोगले त्यो म्याच भारत र अस्ट्रेलियाबीच नै भएको थियो।

पिचको तयारी

स्टेडियमको नवीकरणका साथै यहाँ पिच पनि नयाँ बनाइएको छ। विशेषगरी यो मैदान ब्याटिङका लागि अनकूल देखिएको छ।

अहमदाबादको यो मैदानमा अहिलेसम्म ३० एकदिवसीय म्याच भइसकेको छ, जसमध्ये १५  पहिले ब्याटिङ गर्ने टिमले जितेको छ र १५ लक्ष्य पछ्याउने टिमले।

‘स्लो पिच’ भए पनि अहमदाबाद मैदानमा ब्याटिङको औसत लगभग पाँच रन प्रतिओभर रहेको छ।

यद्यपि पछिल्लो केही वर्षयता अहमदाबादको पिचमा पहिलेभन्दा बढी तिब्रता देखिएको छ र आइपिएलमा ब्याटरलाई रन बनाउन पुगेको छ।

जारी विश्वकपमै इंग्ल्यान्डविरूद्धको खेलमा न्युजिल्यान्डका डेविन कन्वेले अविजित १५२ रन यही मैदानमा बनाएका थिए।

शुक्रबार भारतीय टिम नेट अभ्यासका लागि मैदानमा पुगेको थियो। त्यस क्रममा कप्तान रोहित शर्मा, मुख्य कोच राहुल द्रविड, ब्याटिङ कोच विक्रम राठौर, बलिङ कोच पारस म्हामब्रे र फिल्डिङ कोच टि दिलिपले कम्तिमा २० मिनेटसम्म नजिकबाट पिचको निरीक्षण गरेका थिए।

यो मैदानमा विश्वकपको चार म्याच  भएको छ। पहिलोलाई छोडि दिने हो भने बाँकी तीनवटै म्याच लो–स्कोरिङ रह्यो किनभने  पिचले स्पिन बलिङलाई बढी मदत गरेको छ।

यसलाई हेर्ने हो भने भारतीय स्पिनर कुलदीप यादव र रवीन्द्र जडेजाले २० ओभरमा मदत पाउनसक्ने सम्भावना देखिन्छ।

यता अस्ट्रेलियाका ब्याटरहरू कोलकत्तामा दक्षिण अफ्रिकाका स्पिनरहरूसँग जुझि रहेको देखियो। स्टिव स्मिथ त क्यारेम बलमा बोल्ड आउट नै भए।

यो पिच स्लो भए अहिलेसम्म प्रतियोगितामा घातक देखिएको भारतको पेस  बलरहरूलाई कडा मिहिनेत गर्नुपर्ने देखिन्छ।

जसप्रित बुमराह, मोहम्मद शमी र मोहम्मद सिराज पिचबाट मदत चाहन्छन्। तर, त्यसका लागि पिचमा केही घाँस जरूरी हुनेछ।

हुनत यो मैदानमा भएको पछिल्लो पाँच म्याचमध्ये तीन म्याच लक्ष्य पछ्याउने टिमले जितेको छ।