१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

बाँके।  जमुना बुढामगर भर्खर १९ वर्षकी भइन्। शुक्रबार मध्यरात गएको भूकम्पका कारण उनले श्रीमान र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन्। श्रीमान र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन्। भूकम्पबाट घाइते उनी नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन्।

जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ। भूकम्पपीडितको व्यथा एउटै–एउटै जस्तो देखिन्छ। तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ। उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन भयाे।

बितेका चार दिनमा जमुनाको होस पूर्णरूपले फर्किएको छैन। श्रीमान र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शैययामा छटपटिरहन्छिन्।

जमुना एकसुरमा कतिबेला राम्रैसित बोल्छिन् भने कतिकतिखेर बोल्दै बोल्दिनन्। निकै कम बोल्छिन्। जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउँछिन्। जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन्।

‘छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ। उसलाई थाहा छ। तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे’, आमा पवित्राले भनिन्, ‘एक्लै–एक्लै आफैंसँग कुरा गर्छे। कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन।’

भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा आमालाई छोरीको चिन्ताले सताइरहन्छ।

शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए। घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले सुनाए।

‘हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ। उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ’, भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिएका उनले भने।

जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो। पेटभित्र मरेको शिशुलाई निकालिएको छ। शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसान.घाटमा नै गरिएको बुवा भागिरामले बताए।

जमुनाको उद्धार गर्न जाजरकोट पुगेका भागीराम र उनकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो। ‘हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ। गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ। त्यहाँ पुग्दैगर्दा बाटैमा थाहा पायौँ भूकम्पले हाम्रो पनि घर चर्किएछ।’

अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरचाह गर्न श्रीमानसँगै आएकी आमा पवित्रा भन्छिन्, ‘जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ। हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला,’ उनले भनिन्, ‘अब छोरी चाँडै निको भइदिए हुन्थ्यो।’

आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ। भूकम्प जाँदा जमुनासँगै श्रीमान, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए। भूकम्पले जमुनाका श्रीमान र गर्भको शिशुलाई लगेपनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ। जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन्।