‘चुनावमा धाँधली भएको एउटा मात्र प्रमाण भेटिए पद छाड्न तयार छौँ ’

‘चुनावमा धाँधली भएको एउटा मात्र प्रमाण भेटिए पद छाड्न तयार छौँ ’

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनबाट डा. बद्री केसीकाे नेतृत्वमा निर्वाचित  नयाँ टिमले काम सुरु गरिसकेको छ।

एनआरएनएकाे निर्वाचनलाई सभ्य, शालिन र वैज्ञानिक कायम गर्न सर्वसम्मत तवरले इतिहासमै पहिलो पटक अनलाइन भोटिङ अभ्यास गरिएकामा त्यसबाट आशातीत रुपमै सहज ढंगले चुनावी प्रक्रिया सम्पन्न भयो। आइसीसीबाट गठित भोटिङ सेलेक्सन कमिटिले छानेको विश्वप्रसिद्ध अनलाइन भोटिङ कम्पनी ‘भेरो भोटिङ’बाट एनसीसीदेखि सम्पन्न निर्वाचनमा कुनै विवाद र समस्या ठाउँ देखिएन, छैन।

यसपालिको चुनावमा पहिलो पटक प्रतिनिधिले आफ्नै ठाउँमा बसेर आफ्ना उम्मेदवारहरूलाई अनलाइनमार्फत मतदान गरेका थिए। काठमाडौं आएका प्रतिनिधिले भने महाधिवेशन स्थलमै भोट हाले। काठमाडौंबाट भएको मतदान पनि अनलाइन प्रणालीमार्फत नै भएको थियो। निर्वाचन निकै वैज्ञानिक ढंगले भएको थियो।

एमआइएस सिस्टमबाट चयन भएका प्रतिनिधिले फेस भेरिफिकेसनका आधारमा चुनावमा भोट हालेका थिए। अस्ट्रेलियामा मुख्य कार्यालय रहेको ‘भेरो भोटिङ’ एक विश्वप्रसिद्ध अनलाइन भोटिङ कम्पनी हो। विश्वभरिका प्रतिष्ठित संघ संगठनहरूले पनि यसकै सफ्टवेयर प्रयोग गरेर आफ्ना वार्षिक भेला र अधिवेशनहरू गरेका छन्।

चुनावको प्रारम्भिक नजिता रिम्भुबिनै जस्ताका तस्तै प्रसारण गर्ने सहमति भएअनुसार त्यसो गरिंदा एउटा सानो प्राविधिक ‘कन्सर्न’ देखापर्‍यो। उपाध्यक्षका उम्मेदबार डा. केशव पौडेलले चुनावको १२ घण्टाअघि आफ्नो नामको स्पेलिङ काठमाडौंबाट सच्याउन लगाउँदा भेरो सफ्टवेयरले त्यसलाई तत्काल पहिचान नगर्दा सृजित सानो प्राविधिक अलमललाई आकाशै खस्यो भनेझैं गरी अतिरन्जना गर्ने र अनर्गल मच्चाउने काम जुन पक्षबाट भयो, त्यही पक्षले नवनिर्वाचित समितिलाई काममा अवरोध गर्ने, समानान्तर समिति बनाएर सरकारलाई समेत अनावश्यक झमेला दिने काम गरिरहेको छ। जुन सर्वथा निन्दनीय छ।

जनमानसले यतिबेला बुझ्नुपर्ने विषय के छ भने भेरो भोटिङलाई छनोट गर्ने समितिमा म स्वयम्सहित डाक्टर पौडेल, अध्यक्ष पदका उम्मेदवारद्धय राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठ एवम् सुनिल शाह थियौं। कयौं पटकको नेगोशिएशन, संवाद र परीक्षणपछि संसारमै नाम कहलाएको भेरो भोटिङसँग उक्त समितिले अनलाइन निर्वाचन गराउने सम्झौता गरेको हो। डा. पौडेलको प्रारम्भिक नजितामा देखिएको विषयका सन्दर्भमा तत्काल भेरो भोटिङले जुम मिटिङ र लिखित प्रष्टिकरणबाट निवर्तमान आइसिसी, निर्वाचन समिति, पूर्व अध्यक्षहरु, मतदाताहरुलाई विश्वस्त तुल्याउने गरी जानकारी गराएकै हो। जसका आधारमा निर्वाचन समितिले विजेताहरुलाई शपथ गराएको थियो। यति प्रष्ट, जिम्मेवार र पारदर्शी चुनावी प्रक्रिया हुँदाहुदै कुनै पक्षलाई चित्त नबुझेको खण्डमा थप छानबीन गर्न गराउन एवम् जुनसुकै ठाउँमा गएर जवाफ दिन हामी सबै तयार छौं।

हामीले असन्तुष्टी जनाउनु हुने साथीहरुलाई स्वतन्त्र आइटी अडिट गर्न आइटी कम्पनी प्रस्तावका लागि दुई पटक लिखित पत्र पठाइसकेका पनि छौं। यसमा पनि चित्त नबुझे प्रचलित कानूनअनुसार उपचार खोज्ने सभ्य उपाय छँदैछ। परन्तु चुनावमा पराजित हुनु भएका राजेन्द्रकुमार शर्मा, वुद्धिसागर सुवेदी, ठाकुर ढुंगाना, गंगाधर गौतमलगायतका मित्रहरुले निरन्तर एनआरएनए सचिवालयमा धावा बोल्ने, कर्मचारीहरुलाई तर्साउनेलगायतका गतिविधि गरिरहनु अशोभनीय हर्कत हो।

एनआरएनए संसारभर छरिएका नेपाली र नेपालीभाषीहरुको हित संरक्षण एवम् उनीहरुको सामथ्र्यलाई मातृभूमिको समृद्धिसँग जोड्ने लक्ष्य बोकेको गैरराजनीतिक साझा संस्था हो। यसमा आवधिक निर्वाचनको माध्यमबाट संस्थाको उद्देश्यअनुसार सेवा गर्नका लागि नयाँ नेतृत्व चयन गरिन्छ। यो कुनै लाभको प्लेटफर्म होइन। त्यसो भएको हुनाले यो संस्थाको गरिमा र पवित्रता अक्षुण्ण राख्नु हामी सबैको दायित्व हो। लोकतान्त्रिक विधिमा चल्ने संस्थामा हारजित गणित पनि हो, सौन्दर्य पनि हो। यसमा जित्ने हार्ने दुवै पक्षले उत्तिकै योगदान दिई सहकार्य गर्नुपर्छ। तर, हारलाई जुँगाको लडाईं र अहम् साँध्ने हतियार बनाएर जस्तो खालको रवैया र ताण्डव नृत्य हाम्रै मित्रहरुले मच्चाइरहनु भएको छ, त्यसले ‘लालु कराउनु र बाख्रा हराउनु’ भनेजस्तै एनआरएनएलाई खिसी गर्ने पक्षलाई बल पुर्‍याएको छ। र, एनआरएन समुदायप्रतिको दृष्ट्रिकोण नै धुमिल हुन पुगेको छ।

तर, केही व्यक्तिहरुको कुत्सित उद्देश्यले यति ठूलो गरिमामय संस्थाको विरासत डग्मगाउँदैन। आज आफैं माला, अविर लगाएर हिंड्दा लाज नलागे पनि भोलि सन्ततिले धिक्र्कादा ती मित्रहरुको मन रोला नरोला, तर हामी काममा विश्वास गर्नेहरुले चाहिं अबका दिनमा एनआरएनए अभियानलाई थप सुदृढ, एकिकृत र प्रभावकारी बनाउन एकजुट हुनु आवश्यक छ। यो संस्थालाई हामी कसैको हातबाट राजनीतिक हतियारका रुपमा प्रयोग हुन दिदैनौं। पैसा र सत्ताको दुरुपयोग गरी चुनाव जित्नेजस्ता विकृतिहरुलाई पनि कुनै ठाउँ दिंदैनौं।

निर्वाचनबाट विजय प्राप्त सम्पूर्ण साथीहरु, निर्वाचनमा सहभागी भई लोकतान्त्रिक गरिमा बढाउने उम्मेदवार र मतदाता साथीहरुमा म वृहतर् सहकार्यका लागि अपिल गर्छु। साथै नतिजालाई स्वीकार्न नसकी स्वेच्छाचारी व्यवहार गर्ने साथीहरुलाई पनि एक पटक विवेकपूर्ण महसुसीको प्रयास गर्न आग्रह गर्छु। म उहाँहरुलाई भन्न चाहन्छु– तपाईं संसारको जुनसुकै अदालत वा निकायमा गएर उपचार खोज्नोस्, शुभकामना छ। तर, निर्वाचित भएको विषयमा एउटा मात्र त्रुटी भेटिएमा हामी तत्काल पदत्याग गर्छाैंं। होइन, त्यसो नगरिकन हुलहुज्जत र जंगली व्यवहारबाट आफूखुसी गर्न खोज्नुहुन्छ भने त्यसको परिणामको जिम्मेवारी तपाईंहरुले नै लिनुपर्छ।

समस्यारहित समाज हुन्न, गुनासोरहित मानिस हुन्नन। तर, यथार्थ एउटै हुन्छ। यसलाई स्वीकार नगरी सुखै छैन।

एनआरएनएमा देखिएको यी मामिलाहरुलाई ठूलो संस्थाभित्रको सामान्य विषयका रुपमा हेर्न जरुरी छ। चुरो कुरो भनेको एनआरएनएको मुख्य मिसनलाई प्रभावित हुन नदिनु हो।

एघारौं महाधिवेशनमा सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरुप्रति म पुनः धन्यवाद भन्न चाहन्छु।

(जोशी एनआरएनएका नवनिर्वाचित महासचिव हुन्। उनी अमेरिकाको टेक्सासमा व्यववासय गर्दे आएका छन्।)