दोहोरो नागरिकता दिने काम राष्ट्रघाती हो : प्रभु साह
कलैया। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गैरआवासीय नागरिकलाई नेपाली नागरिकता वितरण गर्न थालेपछि साहले त्यसलाई राष्ट्रघाती कार्य गरेको भन्दै विरोध जनाएका हुन्।
बडादसैं, दिपावली, छठ पर्व सहित विभिन्न चाडपर्वको अवसरमा आज बाराको बेलहिया बजारमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले ‘टोपीधारी बेलायती’ले नेपालमा रहेका धनसम्पती विदेशमा लैजान लागेकाले त्यस्तालाई नागरिकता दिन नहुने बताए।
‘इन्डियामा ब्रिटिसहरू आउँदा पैसा कमाएर जहाजभरी भारतबाट ब्रिटिस पैसा लैजान्थे, थोरै पैसा लागानी गर्थे तर भारतको पैसा उनीहरुले जहाजमा भरेर ब्रिटिस लैजान्थे’ साहले भने, ‘नेपालको नागरिकता त्यागिसकेकालाई फेरी किन नागरिकता दिनुपर्योरु नेपालमा रहेका उनीहरुले सम्पती बेचेर विदेश लैजान्छन्। उनीहरुलाई नेपालमा लगानी गर्ने चिन्ता छैन्। नेपालमा भएका सम्पती कसरी विदेश लैजाने त्यसका चिन्ता मात्रै छ। नेपालमा गैरआवासिय नागरिकलाई लगानी गर्न कुनै बन्देज छैन्। तै पनि उनीहरुलाई नागरिकता दिएर नेपाललाई आर्थिक रुपमा अझै कमजोर बनाउने षडयन्त्र मात्रै हो।’
विश्वमा कहिपनि नभएको व्यवस्था गरेर नेपाललाई आर्थिक रुपमा कमजोर बनाउनेलाई नेपाली नागरिकले चिनेर कारवाही नगरेसम्म देश नबन्ने उनले बताए। आम जनता अहिले यस्ता भ्रष्ट एवं देशको माया नहुनेलाई कारवाही गर्नुपर्ने तर्क उनले गरे।
‘विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो। गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुलनेछ’ आजपा अध्यक्ष साहले भने, ‘खर्बो खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्याइसकेका तितीहरुले अब आफनो अचल सम्पति पनि खुलेआम विदेश लान पाउनेछन। नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन।’
विश्वमा दोहोरो नागरिकत्ताको प्रावधान नरहेको तर नेपालमा दोहोरो नागरिकत्ताको प्रावधान राखेर नेपाललाई खोक्रो राष्ट्र बनाउने कार्य भइरहेको भन्दै उनले यसलाई रोक्नुपर्ने माग गरेका छन्।
‘दुनियामा काही न भएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ। विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहरो नागरिकताको प्रावधान ल्याईएको भन्ने हाला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुँदैछ। यस अपराधजन्य कार्यको विरुद्ध आम जनता एक भएर प्रतिवाद गरौं। राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार’ उनले भने।
देशमा बढदै गएको भ्रष्टाचार, अनियमितताको अन्त्यका लागि आफूले प्रधानमन्त्री प्रचण्डसंग कुरा गरेर जिल्ला फर्केको बताउँदै अध्यक्ष साहले यो चाडपर्व पश्चात काठमाडौंमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमिततालाई रोक्नुपर्ने बताउँदै उनले काठमाडौं फर्किएपछि यसका विरुद्धमा कडा आन्दोलन हुने बताए।
यसैगरी सुराकीका नाममा भन्सार कार्यालयले दिने गरेको ४५ प्रतिशत कमिसनको व्यवस्था भन्सार नियमावलीबाट हटाउनुपर्ने उनले बताए।
भन्सार कानुनमा रहेको ४५ प्रतिशत सुराकी तथा कमिसनको लुटकारी व्यवस्थाका कारण मधेशमा हजारौं सर्वसाधारण अन्यायमा परिरहेको उल्लेख गर्दै यो व्यवस्था तत्काल हटाउन नेता साहले जोड दिए।
अप्रत्यक्ष मिलोमतोका कारण ठूलो परिमाणमा तस्करले अवैधरुपमा भित्र्याउने सामानप्रति प्रहरी प्रशासनले नियन्त्रणमा लिन चासो नलिने गरेको समेत उनले आरोप लगाए।
तर मधेसका मानिस आफ्नो खेतमा प्रयोग गर्न बीउ, कीटनाशक, मलखाद, दैनिक उपभोग्य वस्तुका साथै चाडपर्वमा सीमावर्ति भारतीय बजारबाट घरका लागि कपडा ल्याउँदा पनि भन्सार छलीको भन्दै नियन्त्रणमा लिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कहिल्यै पछि नपर्ने पूर्वमन्त्री साहले जिकिर गरे।
आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्यहरु त्रिभुवन साह, अशोक लामा, बाबुराम कौशिक, महिला नेतृ रञ्जु साह लगायतका नेताहरु एवं सर्वसधारणको सहभागिता रहेको थियो।