आरके शर्माले टुंग्याए उपाध्यक्षका उम्मेदवार

आरके शर्माले टुंग्याए उपाध्यक्षका उम्मेदवार फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका प्रत्यासी राजेन्द्र कुमार शर्मा (आरके)ले आफ्नो टीमबाट उपाध्यक्ष लड्ने उम्मेदवारको नाम टुंग्याएका छन्।

कतारका शर्माले संघको एघारौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिँदैछन्।

संसोधित विधान अनुसार संघमा अब ६ जना खुल्ला उपाध्यक्ष निर्वाचित हुनेछन्। यस्तै, एक–एक महिला र युवा उपाध्यक्ष हुनेछन्।

शर्माले आफ्नो टीमको उपाध्यक्ष पदको पहिलो नम्बर मलेसियाका खगेन्द्र न्यौपानेलाई राखेका छन्। यस्तै, जापानका खगेन्द्र प्रसाद (गोविन्द)लाई पनि उनले दोस्रो नम्बरमा राखेका छन्।

यस्तै, कतारका राजु रेग्मी (राज)को नाम पनि उनको टीममा छ। रेग्मीलाई अध्यक्षका अर्का प्रत्यासी महेश कुमार श्रेष्ठले पनि टीममा राखेका छन्।

शर्माले युरोपबाट विजय मोक्तान शशिकान्त पौडेललाई आफ्नो टीममा ल्याउने भएका छन्। मोक्तान जर्मनी निवासी हुन् भने पौडेल नेदरल्याण्डबाट हुन्।

यस्तै, अष्ट्रेलियाका अभिमानसिंह बस्नेतको नाम पनि शर्माले उपाध्यक्षमा राखेका छन्।

यसैगरी, युवा उपाध्यक्षमा कतारका अब्दुल वासिदको नाम शर्माको टीममा छ।

महिला उपाध्यक्षमा समर्थन कसलाई गर्ने भन्ने विषयमा भने शर्माले निर्णय गरिसकेका छैनन्।

सम्भवतः बेलायतकी रोजिना प्रधान राईलाई सघाउने चर्चा छ। रोजिनालाई महेश श्रेष्ठको पनि पूर्ण सहयोग रहने बताइन्छ।

 

 

 



No ads found for this position