सजिलो छैन इजरायलबाट नेपाली ल्याउन

सजिलो छैन इजरायलबाट नेपाली ल्याउन तस्वीर : एफपी

काठमाडौं। ‘प्रधानमन्त्रीले फोनमा कुराकानी गरेर, भिडियोकल गरेरमात्रै पुग्दैन’ सोमबार प्रतिनिधिसभाको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले भने, ‘परराष्ट्रमन्त्री तुरन्तै इजरायल पठाएर भए पनि नेपालीको उद्धार गरियोस्।’

उनी सत्ता साझेदार दलकै सांसद हुन्।

शनिबारदेखि बङ्करमा थुनिएकामध्ये १० जना नेपालीको हत्या भइसकेको छ। बाँकी रहेका केही नेपालीलाई इजरायली सेनाले सुरक्षित ठाउँमा लगेर छोडेको छ। तर, अब के हुन्छ? उनीहरूलाई पनि थाहा छैन।

इजरायलमा थुनिएका नेपालीको उद्धार र मारिएकाहरूको शव तत्काल ल्याउन भन्दै सोमबारको सदन पनि निकै तात्यो। मन्त्रिपरिषद् बैठक बसिरहेका बेलामा सांसदहरूले भने ‘उद्धारका लागि तत्काल कदम चाल्न’ सरकारलाई उत्तिकै दबाब दिए।

सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रिय झन्डा झुकाउनेदेखि इजरायलबाट नेपाली झिकाउने प्रयास थाल्नेसम्मका विभिन्न निर्णयहरू पनि गरेको छ।

‘पररास्ट्रमन्त्रीले इजरायलमा भएको घटनाको हाल सुनाउनुभयो। तर, आफैं बेहाल भएर,’ सोमबार संसदमा एमाले सांसद गोकुल बाँस्कोटाले भने, ‘इजरायल दक्षिण एसियामै नेपालको पुरानै सम्बन्ध हो। तर, इजरायलमा फसेका नेपालीको उद्धार गर्न नसक्नु सरकारको कुटनीतिक सम्बन्ध कमजोर रहेको भन्ने छताछुल्ल भएको छ।’

शनिबार इजरायलको दक्षिणी क्षेत्रमा हमास विद्रोहीले अचानक आक्रमण गरेपछि इजरायली सेनाले पनि लगातार जवाफी आक्रमण गरिरहेको छ।

अहिलेसम्म ११ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचारहरूले जनाएका छन्। त्योमध्ये १० जना नेपाली पनि मारिएका छन्।

इजरायलमाथि रकेट आक्रमण हुन थालेपछि सुरक्षित बङ्करमा छिर्नेक्रममा उनीहरू मारिएका हुन्। त्यो बेलासम्म जमिनको बाटो भएर पनि हमासका लडाकुहरू इजरायली क्षेत्रमा घुसिसकेका थिए। उनीहरूले बङ्कर अनि घरभित्रै रहेका धेरै मानिसलाई बन्धक बनाए।

बङ्करमा लुकेका कतिपय नेपाली पनि हमासको बन्धकमा परे। त्यहीक्रममा उनीहरूलाई गोली लागेको हो। यद्यपि, नेपालीहरूको मृत्युको कारण अहिलेसम्म पनि यकीन भइसकेको छैन।

इजरायल वा प्यालेस्टाइन अझ भनौं युद्धग्रस्त गाजा क्षेत्रमा रकेट र हवाइ आक्रमण नयाँ कुरा होइन। आक्रमणको सूचना वा आक्रमण भइरहेका बेलामा पनि त्यहाँ १० सेकेन्डजति सुरक्षा साइरन बज्छ। त्यत्तिन्जेल सुरक्षित बङ्करभित्र छिरिसक्नुपर्छ।

इजरेलले त्यस्ता आक्रमणबाट आफ्नो भूमिका नागरिकलाई सुरक्षित राख्न लागि क्षेप्यास्त्ररोधक प्रविधि पनि बनाएको छ। जसले प्रहार भएका त्यस्ता लामो दूरीका अस्त्रहरूलाई आकाशमै निस्क्रिय पारिदिनसक्छ।

त्यसैले पनि हत्तपत्त ठूलो मानवीय क्षति हुँदैन भन्ने विश्वास थियो। तर, शनिबारको आक्रमण एकदमै अचानक भएको थियो। त्यसको पूर्व जानकारी हमासले दिएको थिएन र इजरायललाई त्यसको पूर्वानूमान पनि थिएन।

त्यसमा देशको सुरक्षा तयारी गम्भिररुपमा चुकेको भनेर इजरायलको गुप्तचर निकायले आफ्नो कमजोरी स्वीकार पनि गरिसकेको छ।

त्यति ‘अप्रत्यासित’ आक्रमणबाट आत्तिएका र इजरायली भूमिमा कतिपय विद्यार्थीहरू नयाँ भएका कारण पनि उनीहरूलाई गोली र ग्रिनेड आक्रमणमा परेको हुनसक्ने कतिपयले आँकलन गरेका छन्।

युद्धग्रस्त क्षेत्रमा आफ्ना १० जना साथीहरू गुमाइसकेका र त्यसमा नराम्ररी फसेका नेपाली विद्यार्थीहरूले पनि आफूहरूको उद्धार गरिदिन सरकारलाई भिडियो अनि विभिन्न माध्यमबाट बारम्बार आग्रह गरिरहेका छन्।

आफ्ना सान्तान मारिएको खबरपछि कतिपयको गाउँघरमा शोक छ। थुनिएकाहरूको आफन्त सोमबार सिंहदरबार छिरेर मन्त्रीहरूलाई आफ्ना सन्तानको उद्धार गरिदिन अपिल गरेका छन्।

सरकारलाई बारम्बार उद्धारका लागि याचना गरिरहेका छन्। बंकरभित्र खाना, पानी नभएको र बाहिर जान सकिने अवस्था नभएको भिडियो सामाजिका सञ्जालमा पोस्ट्याइरहेका छन्। उनीहरुले नेपाली दुतावासले उद्धार गर्न नसकेको बताइरहेका छन्।

विद्यार्थीहरु द्वन्द्वग्रस्त क्षेत्रमा फसिरहँदा नेपालको संसद पनि इजरायलको विषयमा केन्द्रित भएको छ। आइतबार छिटो उद्धारका लागि आह्वान गरेका सांसदहरुले सोमबार सरकारको आलोचना गरे।

एमाले सांसद बाँस्कोटाले भनेको जस्तै बोल्ने सत्तापक्षका केही सांसदबाहेक सबैले सरकारले उद्धारका लागि पहल गर्न नसकेको आरोप लगाए। बाँस्कोटाले त प्रधानमन्त्री लोकप्रियता कमाउन लागेको आरोपसमेत लगाए।

उनले भने, ‘प्रधानमन्त्री एकदम लोकप्रिय काम गर्दै हुनुहुन्छ, भिडियो कल, समवेदना दिएर तर जो संकटमा फसिरहेको नेपालको चाहना भने तत्काल स्वदेश फर्किने छ। उनीहरुलाई छिटो फर्काइयोस्।’

के सांसदले भनेको जस्तै उद्धार गर्न सहज छ?

सरकारले आफ्नातर्फबाट सबै तयारी गरिसकेको जनाएको छ। तर, कसैले भावनमा बगेर भनेजस्तै अहिलेको अहिले नै जहाज पठाएर त्यहाँ फसेका नेपालीलाई ल्याउन भने सहज र सम्भव दुवै छैन।

युद्धग्रस्त क्षेत्र भएका कारण पहिलो त त्यहाँ जान वा आउनका लागि अहिलेसम्म युद्धरत दुवै देशले केही भनिसकेका छैनन्। त्यसका लागि पहिला त इजरायलले नेपाललाई अनुमति नै दिनुपर्छ।

हमासले रकेट आक्रमणसँगै जमिनबाट इजरायल छिरेर आक्रमण गरिरहेको छ।

इजरायलले पनि आइतबार नै युद्धको घोषणा गरिसकेको छ। जसका कारण प्यालेस्टायन र इजरायलबीच युद्ध कति लामो हुन्छ भन्ने एकीन छैन।

इजरायलमा पढ्न गएको नेपाली विद्यार्थीमात्र छैनन्। विद्यार्थीसँगै काम गर्न गएका अन्य नेपाली पनि छन्। एक तथ्याङ्कअनुसार इजरायलभरि कम्तीमा ४५०० नेपाली छन्। तीमध्ये युद्ध प्रभावित क्षेत्रमा कति नेपाली छन् भन्ने अहिलेसम्म यकीन छैन।

त्यहाँस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपालीलाई अनलाइन फारम भर्न भनेको छ। तर, कतिपय ठाउँमा इन्टरनेट नै चल्न सकेको छैन। सबै त्यस्ता सुरक्षित बङ्करहरूमा त्यो सुविधा पनि छैन।

‘नेपाल फर्किन चाहनेहरूका लागि’ भनेर सरकारले जहाजहरू तयार गरिराखेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउद निरन्तर दुईपक्षीय छलफलमा छन्। तर, सरकारले उद्धारका लागि तत्काल विमान पठाउन सकेको छैन।

किन?

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले युद्ध भइरहेकाले विमान पठाउन तत्काल गाह्रो भइरहेको बताइन्।

उनले भनिन्, ‘इजरालयबाट नेपालीको उद्धारका लागि हामीले त्यहाँको सरकारसँग कुरा गरिरहेका छौँ। तर, युद्ध चलिरहेकाले केही कठिनाइ भइरहेको छ।’

उनले परराष्ट्रमन्त्री छलफलमा रहेकाले छिट्टै नेपालीको उद्धारका लागि तयारी भइरहेको बताइन्।

‘हाम्रो तर्फबाट कुनै कमी गरेको छैनौँ। वार (युद्ध) भएकाले केही कठिनाइ भएको हो। त्यहाँ केही सहज भएमा हामी सबैको उद्धार गर्ने छौँ।’

उनले तत्काल उद्धार गर्न नसकिने नागरिकलाई बंकरभित्र सुरक्षित राखिने र सहज वातावरण भएमा उद्धार गरिने जानकारी दिइन्।

तर, काँग्रेसकै सांसद रामनाथ अधिकारीले सरकारले गर्नुपर्ने खास पहल गर्न नसकेका बताए। उनले भने, ‘सरकारले इजरायलबाट नेपालीको उद्धार गर्न पहल केही गरिरहेको छ। तर, जुन किसिमको गर्नुपर्ने थियो, त्यो पहल गर्न सकेन। ढिलाइ गरिरहेको छ।’

अधिकारीले इजरायलको माथिल्लो तहमा कुरा गरेर यहाँबाट विमान नै पठाएर युद्धमा परेका नेपालीको उद्धार गर्नुपर्ने बताए।

सरकार के गरिरहेको छ?

सरकारले उद्धारका लागि दुई विमान कम्पनीका विमानहरु तयारी अवस्थामा राखेको छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान तयारी अवस्थामा राखेको हो।

सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ, ‘अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गरिने छ।’

यस्तै सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय गरेको छ।

उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवम् छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने, इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत् संकलन गर्ने, मृतक परिवारलाई १० लाख रुपैयाँ राहत दिनेलगायत निर्णय सरकारले गरेको छ।

युद्धग्रस्त क्षेत्रबाट विद्यार्थीको उद्दार

इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपाली विद्यार्थीलाई उद्दार गरिएको छ। गाजा क्षेत्रमा फसेका नेपाली विद्यार्थीहरुलाई इजरायली सेनाले स्कटिङ गरेर सुरक्षित स्थानमा सारिएको नेपाली विद्यार्थी लुइस रिजाल फेसबुक लाइभमार्फत् जानकारी गराएका छन्।

रिजालसहित ३२ जना विद्यार्थी गाजास्थित कृषि फर्ममा अध्ययन गर्थे। शनिबार प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा एकाएक रकेट आक्रमण गरेपछि उनीहरु त्यहाँको घर तथा बंकरमा लुकेर बसेका थिए।

युद्धपछि गाजा क्षेत्रमा फसेका उनीहरुले उद्दारको लागि पटक–पटक आग्रह गरेका थिए। युद्ध सुरु भएको दुई दिनपछि ३२ जना विद्यार्थीलाई इजरायली सेनाले सोमबार उद्दार गरी सुरक्षित स्थानमा सारेको छ।