इजरायलमा १२ नेपाली विद्यार्थी सम्पर्कविहीन
काठमाडौं। परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको जानकारी दिएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा इजरायलमा हमासबाट भइरहेको आक्रमणले सृजित परिस्थितिमा नेपालीको अवस्थाबारे जानकारी गराउँदै मन्त्री साउदले १२ जना नेपाली सम्पर्कविहीन भएका बताएका हुन्। उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू सम्पर्कविहीन भएका हुन्।
१७ जना नेपालीहरूमध्येबाट दुईजना सकुशल रहेको र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै उनले बाँकी १२ जना सम्पर्कमा नभएको बताएका हुन्। तर, उनीहरुको स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए।
‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ,’ मन्त्री साउदले बैठकमा जानकारी गराए।