इजरायल र प्यालेस्टाइनबीचको ‘दुश्मनी’ इतिहास

इजरायल र प्यालेस्टाइनबीचको ‘दुश्मनी’ इतिहास

काठमाडौं। प्यालेस्टाइनको ‘विद्रोही’ समूह हमासले इजरेली भूमिमा अचानक रकेट आक्रमण गरेपछि अहिले दुबैबीच युद्ध चर्किएको छ।

दुवैतिरका लडाकुहरू अहिले हवाइ र रकेट आक्रमणमा भिडिरहेका छन् भने हमासले आफ्ना लडाकुहरू इजरायलभित्रका कतिपय क्षेत्रमा छिरिसकेको दाबी गरेको छ।

हमासले गरेको आक्रमणबाट गाजा क्षेत्रका कम्तीमा २३ जना इजरेली नागरिकको मृत्यु भएको समाचारहरू बाहिरिएका छन्। पाँचसयभन्दा बढी मानिस घाइते भएको भनिएको छ। तर अझै यकीन विवरण आइसकेका छैनन्।

इजरायलको नियन्त्रणमा रहेको भनिएको गाजा क्षेत्रमा प्रवेश गरेर हमास लडाकुले आक्रमण गरेका थिए। उनीहरूले कतिपय इजरेलीलाई युद्धबन्दी बनाएको दाबी गरिएको छ।

हमासले शनिबार बिहान २० मिनेटमा ५ हजारभन्दा बढी रकेट इजरेली भूमिमा हानेको दाबी गरेको छ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अब इजरायल युद्धमा होमिइसकेको र गाजाको शासक हमासले कल्पना नै गर्न नसक्ने मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

इजरायलको रक्षा विभागले दर्जनौं लडाकु विमानहरू गाजा क्षेत्रमा पठाएर आक्रमण गरिरहेको छ।

हमासका नेता मोहम्मद डेफले आक्रमणपछि प्रतिक्रियामा भनेका छन् ‘हामीले भनिसकेका थियौं अब अति नै भयो। यो आक्रमण त्यसैको परिणाम हो। अति भनेको अति नै हुन्छ भनेर हामीले आक्रमणको निर्णय गरेका हौं।’

यसलाई हमासले ‘अपरेशन अल-अक्सा स्टर्म’ नाम दिएको छ।

रुस-युक्रेनको युद्ध नसकिँदै फेरि मध्यपूर्वले अर्को युद्धको सामना गर्नुपर्ने भय थपिएको छ। नेपालको छिमेकी भारत तथा अमेरिकालगायत विश्वका कतिपय राष्ट्रहरूले इजरायलमाथिको आक्रमणको निन्दा गरेका छन्।

इजरायल-प्यालेस्टाइन युद्ध इतिहास

पहिलो विश्व युद्धपछि मध्यपूर्वमा ‘अटोमन’ साम्राज्य पनि ढल्यो। त्यसपछि यो क्षेत्रमा ब्रिटेन (बेलायत)ले कब्जा गर्‍यो।

१४ औं शताब्दीपछि र २०औं शताब्दीअघि युरोप साम्राज्यको विशाल रुप थियो ‘अटोमन’ हालको टर्कीलाई केन्द्र बनाएर त्यो बेलाका शक्ति राष्ट्रहरूले बुल्गेरिया, रोमानिया, युगोस्लोभियालगायतका क्षेत्रहरूमा यो साम्राज्य फैलिएको थियो। जसको राजधानी हालको इस्तानबुल थियो।

पहिलो विश्वयुद्धमा बेलायत र उसका सहयोगी राष्ट्रहरूले त्यो साम्राज्यलाई पराजित गरेपछि त्यहाँ पनि बेलायती शासनले नियन्त्रण लिएको थियो। त्यसपछि अटोमन साम्राज्यमा रहेका देशहरू ‘स्वतन्त्र’ त भए तर लामो समयसम्म ती ब्रिटेनका उपनिवेशजस्तै रहे।

यहाँ अधिकांश यहुदी र अरबी समुदायका मानिसको बसोबास थियो।

दोस्रो विश्व युद्धको अन्त्यसँगै सारा विश्व संयुक्त राष्ट्र संघको छातामुनि गोलबद्ध भयो।

अर्कोतर्फ यहूदी र अरबी समुदायबीच मतभेद बढ्दै गइरहेको थियो।

बेलायत साम्राज्य यो विवादलाई सुल्झाउन नसक्ने अवस्थामा पुगेको थियो। बेलायती शासकले यहूदीका लागि प्यालेस्टाइनमा छुट्टै भूमि छुट्याउने प्रस्ताव राख्यो। तर त्यसमा सहमति जुट्न सकेन।

त्यसपछि त्यो विवाद मिलाउनका लागि इजरायल र प्यालेस्टाइनका बीचमा संयुक्त राष्ट्रसंघ छिर्‍यो।

संयुक्त राष्ट्र संघमा यो विषयमा मतदान नै भएको थियो।

परिणामपछि यहूदीबाहुल्य क्षेत्र इजरायलको स्वामित्वमा रहने भयो र अरबीको संख्या बढी भएको क्षेत्र प्यालेस्टाइनको भयो।

बाँकी रह्यो जेरुसेलम(हाल इजरायलको राजधानी), जहाँ यहूदी र मुसलमान दुवैको बर्चश्व सराबरी थियो।

र संयुक्त राष्ट्र संघले त्यो क्षेत्रमा अन्तर्राष्ट्रिय नियन्त्रण रहने घोषणा गर्‍यो।

लगत्तै सन् १९४८-४९ ताका इजिप्ट, सिरिया, इराक तथा जोर्डनले इजरायलमाथि आक्रमण गरे। तर इजरायलले त्यो आक्रमणलाई विफल पारिदियो। प्यालेष्टाइनको भू-भाग तहसनस भयो।

पश्चिमी भाग जोर्डनको नियन्त्रणमा पुग्यो। गाजापट्टी इजिप्टको कब्जामा पुग्यो। झण्डै आधा इजरायलको नियन्त्रणमा रह्यो। लगभग ७ लाख बढी अरबी प्यालेस्टाइनीहरू शरणार्थी भए।

प्रथम विश्वयुद्धको अन्त्यसँगै अटोमन साम्राज्य ओरालो लाग्दै थियो।

प्यालेस्टाइनमा बेलायतको शासन भयो। बालफोरु घोषणाबाट ठूलो संख्यामा यहूदीहरू प्यालेस्टाइनमा बसाइँ सरेका थिए। उता बेलायतले फ्रान्स र रूससँग ‘साइक्स-पिकोट’ भनिएको एउटा गोप्य सम्झौता गर्‍यो।

सम्झौताले सम्पूर्ण मध्यपूर्वलाई विभिन्न भागमा विभाजन गरी प्रथम विश्वयुद्ध समाप्त भएपछि कुन देश कुन-कुन भागमा जाने भन्ने निर्णय गरे।

यो अवधिमा यहूदीहरूको संख्या तीव्र गतिमा बढ्दै थियो। प्यालेस्टाइनमा बसाइँ सरेका यहूदीहरू त्यहाँ जग्गा जमिन समेत खरिद गर्न सुरु  गरिसकेका थिए।

त्यहीबेला अरबीसँग द्वन्द्व सुरु भयो।

सन् १९३६ ताका प्यालेष्टाइनी र अरबी संघर्ष चर्कियो। बेलायतले त्यो विवाद साम्य पार्न यहूदी सेनाको मदत लियो। प्यालेसटाइनीहरूलाई शान्त गर्न वेलायतले यहूदीहरूको बसाइँसराइमा नियन्त्रण गर्न थाल्यो।

त्यसपछि दोस्रो विश्वयुद्ध सुरु भयो।

हिटलरको शासनमा, यहूदीहरूको नरसंहार युरोपभरि नै भयो। करिब ४२ लाख यहूदीहरुलाई ग्यास च्याम्बरमा राखेर मारियो।

युरोपमा बसोबास गर्ने यहूदीहरूले प्यालेस्टाइनबाहेक अर्को कुनै ठाउँमा यहूदीहरू सुरक्षित रूपमा बस्न नसक्ने निष्कर्ष निकाले।

सन् १९९३मा ‘ओसलो एकोर्ड’ भनिने ५ बर्षीय सम्झौता भयो।

त्यसमा इजरायलले प्यालेस्टाइनलाई स्वतन्त्र देश स्वीकार्नुपर्ने शर्त थियो।

यही सम्झौताको जगमा यीट्ज स्टाक रोबेन र यासिर अराफातलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो।

तर सन् २००० देखि फेरि युद्ध सुरु भयो। सन् २००५ सम्म अवस्था झनै खराव हुँदै गयो।

इजरायलले आफ्नो नीतिमा कडाई गर्न थाल्यो।

गाजा क्षेत्रबाट आफ्ना करिव ८ हजार सेना फिर्ता बोलायो। सन् २००७ ताका प्यालेस्टाइनको विद्रोही समूह हमास समुहले गाजा क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्यो।

उता पिएलओ-फतेह बीचको राजनीतिक विचारधारा ठीक विपरी भयो।

हमासले उग्रराष्ट्रवाद चर्कायो।

परिणाम आज पनि गाजापट्टी क्षेत्रका लागि त्यो युद्ध जारी छ।

इजरायलको उद्देश्य भनेको विश्वमञ्चमा आफूलाई ‘यहूदी राष्ट्र’का रुपमा स्थापित गर्नु हो। जसलाई प्यालेस्टाइनले स्वीकार गरिरहेको छैन।