समाजवादीको दावी– एनआरएनए चुनावमा निर्णायक मत हामीसँग छ
काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीको प्रवास विभाग संगठन प्रवासी नेपाली एकता मञ्चले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा निर्णायक मत आफ्नो संगठनको हुने दावी गरेको छ।
‘मञ्चमा आवद्ध साढे ३ सय सदस्यको नाम एनआरएनएको मतदाता नामावलीमा छ। तपाईँलाई चाहियो भने लिष्ट नै उपलब्ध गराउन सक्छौंँ,’ मञ्चको अन्तर्राष्ट्रिय कमिटीमा आवद्ध एक पदाधिकारीले प्रवास खबरसँग भने।
अध्यक्ष कसलाई बनाउने भन्ने कुरा आफूहरूको हातमा रहेको दावी उनको छ। ‘नेतृत्वमा हाम्रो आफ्नो उम्मेदवार छैनन्। कसलाई दिने भन्नेबारेमा अझै आधिकारिक निर्णय त भइसकेको छैन। तर, जसलाई दिए पनि हामी एउटैलाई दिन्छौँ। हाम्रो मत विभाजन हुँदैन।’
एकता मञ्चका सदस्यहरूले अनुशासन पालना गर्ने उनले बताए। ‘सर्कुलर अनुसार मतदान गर्छन्। एउटा भोट पनि दाँया–बाँया हुँदैन,’ उनको दावी छ।
संघको आउँदो निर्वाचनमा कांग्रेसको जनसम्पर्क समितिले महेश श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाएको छ। यस्तै, माओवादीको प्रवास संगठन जनप्रगतिशिल मञ्चले कतारका राजेन्द्र कुमार शर्मालाई अघि सारेको छ।
यस्तै, एमालेको प्रवासी नेपाली मञ्चले रसियाका बद्री केसीलाई सघाउने भएको छ। समाजवादी पार्टीका नेतासँग पनि बलियो सम्बन्ध बनाएकाले डा. केसीलाई प्रवासी एकता मञ्चले पनि समर्थन गर्नसक्ने चर्चा छ।
एनआरएनए कतारका निर्वतमान अध्यक्ष मोहम्मद मुक्तादाले पनि संघको निर्वाचनमा समाजवादी पार्टीकै मत निर्णायक हुने दावी गरेका छन्। मुक्तादा समाजवादी पार्टीमा सक्रिय छन्।
उनले त प्रवासी नेपाली एकता मञ्चसँग ठ्याक्कै ३४७ मत रहेको दावी गरेका छन्।
‘विस्वभरीबाट छनौट भएका ४२२७ जना महाधिवेशन प्रतिनिधिमध्ये प्रवासी नेपाली एकता मञ्चमा आबद्ध र आस्था राख्ने ३४७ जना प्रतिनिधिको मत आगामी नेतृत्वको लागि निर्णायक मत हुने छर्लङ्ग भएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘विभिन्न मुलुकमा मन्चले विभिन्न फरक–फरक गठबन्धन गरेर प्रतिनिधि छनौट भएपनि संघको नेतृत्वको लागि प्रवासी नेपाली एकता मंचको आफ्नो कुनै उम्मेदवार नभैइरहँदा दशौ महाधिवेशनबाट केही खस्केको संघको साखलाई उकास्नका लागि राम्राहरूमध्येका राम्रो, सवल र सक्षम उमेदवारहरुलाई निर्णय गरि आफ्नो मत दिनेछ।’
एनआरएनएलाई विशुद्ध गैरराजनीतिक संस्था दावी गरिएपनि चुनावकाबेला उम्मेदवारले राजनीतिक पार्टीहरुबाट खुल्ला रुपमै समर्थन लिने गर्छन्। पार्टी नेताले खेल्ने भूमिकाले पनि संघको चुनावलाई प्रभाव पार्छ।