५० नेपाली बस्ने देशमा अब एनआरएनए विस्तार हुन्छ : महासचिव, जोशी
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले ५० जना नेपालीको बसोबास भएको देशमा संघलाई विस्तार गर्ने बताएका छन्।
आगामी कार्यकालका लागि पनि महासचिव पदमै उम्मेदवारी घोषणा गर्दै जोशी संघको सञ्जाललाई थप विस्तार गर्न आफूले काम गर्ने बताएका हुन्।
जोशीले अध्यक्षका प्रत्यासी डा. बद्री केसीको चुनावी सभालाई सम्बोधन गर्दै औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्।
‘जहाँ नेपाली त्यहाँ एनआरएनए’ उद्धेश्य बमोजिम संघलाई वृहत बनाउन आफूले काम गर्ने उनले बताए।
यस्तै, अब संघको एमआइएस प्रणालीलाई थप व्यवस्थित गर्दै अटो मेम्बरसिप सिष्टमा लैजाने योजना पनि उनले अघि सारेका छन्। अटो मेम्बरसिप सिष्टम बनाएपछि सहज तरिकाले सदस्य बन्ने, सदस्यता नविकरणमा सजिलो हुने र प्रतिनिधि छनोटमा पनि व्यवस्थापन हुने उनको भनाइ छ।
जोशीले अहिलेको कार्यकालमा गरेका कामको स्मरण समेत गरे। एमआइएस सिष्टमलाई सबै एनसीसीमा लागू गर्न सफल भएको उनले बताए।
‘निकै चुनौती थियो। विरोधका बावजुत एमआइएस सिष्टमलाई सबै एनसीसीहरूमा लागू गर्न सफल भयौँ। कतिपय एनसीसीमा यही प्रणालीमार्फत सफल रुपमा निर्वाचन सम्पन्न गरायौँ,’ उनले भने।
कोभिड महामारीमा गरेका कामको पनि उनले स्मरण गरे। नेपालका सातै प्रदेशका लागि संघले सञ्चालन गरेको ‘मोबाइल ब्लड बस’ परियोजनामा निरन्तर काम गरिरहेको उनले बताए।
संघको वालुवाटारस्थित सचिवालयलाई थप व्यवस्थित बनाउने उनले प्रतिबद्धता जनाए। सामाजिक संस्था भएपनि संघको सचिवालयलाई करपोरेट स्टकचरमा सञ्चालन गर्नुपर्ने आवस्यकता रहेको उनको भनाइ छ।
उनले कार्यकाल सफल बनाउन अध्यक्ष डा. केसीलाई पूर्णरुपले सहयोग गर्ने बताए। डा. केसीसँग लामो समयदेखि काम गरेकाले आफ्नो विचार मिल्ने उनले बतााए।
‘अध्यक्ष ज्यूलाई पूर्णरुपले सहयोग गर्छु। उहाँ संस्थालाई चाहिने मान्छे हो। लामो समयदेखि काम गरेकाले उहाँको काम गर्ने शैलीबाट प्रभावित छु,’ उनले भने।
उनले सुरुमा महेश श्रेष्ठको टीमसँगबाट चुनाव लड्न खोजेपनि पछि केसीकै टीममा रहेको बताए।
‘सुरुमा त मपनि धरमरधमर थिएँ। यो लुकाउने कुरा पनि भएन। नयाँ तरिकाले बाटोमा लान सकिन्छ भनेर महेश श्रेष्ठसँग प्रयास गरेको थिए। तर, प्रक्रियामा ‘हाइज्याक’ भयो,’ उनले भने, ‘पछि बद्रीजीले फोन गर्नुभयो। उहाँले फोन गरेर तपाईँ यतै अटाउने मान्छे हो। अर्काे उम्मेदवार उठाउँदैन भन्नुभयो। म पनि तयार भएँ।’