एनआरएनए सहकोषाध्यक्षमा क्यानाडाबाट बस्नेतको दाबी
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा क्यानाडाबाट अभिमन्यु बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्।
विगत १२ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय रहेका बस्नेतले आउँदो कार्यकालका लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
सन् २०१३–१५ कार्यकालमा उनी एनसीसी क्यानाडाको उपाध्यक्ष थिए। त्यसपछि दुई कार्यकाल आइसीसी सदस्य भएर काम गरे।
हाल उनी अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक छन्।
एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउने अठोटसहित सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बस्नेतले बताए।
संघको कोषलाई पारदर्शी बनाउने र आर्थिक अनुशासनको मापदण्ड बनाउने प्रतिवद्धतासमेत उनले गरेका छन्।
संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागितामूलक आर्थिक योगदानको नीति अवलम्बन गरेर कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने, कोषको पारदर्शिता र मितव्ययी परिचालनमा आफू केन्द्रित रहने उनका प्रतिवद्धता छन्।
यस्तै, उनले यसपछिका महाधिवेशनमा सबै पञ्जीकृत सदस्यहरूले मतदान गर्न पाउने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
नेपाली नागरिकता निरन्तरताको लागि समेत पहल गर्ने उनले बताए।
मध्यपूर्वी तथा एसियाली मुलुकमा कार्यरत नेपाली श्रमिकका हकहितका लागि आफूले काम गर्ने बस्नेतको भनाइ छ।
उनका चुनावी एजेण्डा यस्ता छन्ः
१.नेपाली नागरिकता निरन्तरताको लागि पहल गर्ने।
२. सम्पूर्ण पञ्जीकृत सदस्यहरूको मतदान गर्ने अधिकार सुरक्षित गर्ने।
३. एनआरएनएलाई विश्वभरका गैरआवासीय नेपालीहरूको सवल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रुपमा विकास गराउने।]
४. संस्थालाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने। सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्ने।
५.नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राखी त्यहाँ कार्यरत नेपालीहरूको अधिकारको लागि आवाज उठाउने।
६.सुरक्षित वैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउने। यूएई, कतार, साउदी जस्ता नेपालीहरूको जनसंख्या धेरै भएका ठाउँमा कन्सुलर सेवा राख्न पहल गर्ने।
७. विदेशी लगानी नेपालमा भित्र्याउन सहयोग पुर्याउने।
८. नेपालको विकास र समृद्धिमा एनआएनहरूको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने।
९. सामाजिक सेवाका कामहरूलाई कर्तव्य र दायित्वका रुपमा अंगिकार गर्दै व्यापक जनसहभागिताको साथमा सम्पन्न गर्ने।
१०. सरकारसँगको सहकार्यमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि छुट्टै फण्ड स्थापना गर्ने।
११. दोस्रो पुस्ताका एनआरएनहरुलाई एनआरएनएमा समावेश गर्न कार्यक्रम ल्याउने।