आरके शर्माको ‘टाइमलाइन’, २४ महिनामा २४ काम गर्ने बाचा

दोहा। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा राजेन्द्र कुमार शर्मा (आरके) ले उम्मेदवारी घोषणा गरेका छन्।
कतारको राजधानी दोहास्थित र्याडिसन ब्लु होटलमा बुधबार शर्माले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्
उम्मेदवारी घोषणा गर्दै शर्माले आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गरेका छन्।
‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरेका छन्।
उम्मेदवारी घोषणा सभामा बोल्दै शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए।
आफ्ना योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने उनले दाबी उनले गरे।
‘मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु। त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु।
तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ,’ शर्माले भने।
उनले थपे, ‘अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन। मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ।’
नेतृत्वमा आएपछि आफूले योजनाबद्ध ढंगले काम गर्ने शर्माले बताए।
‘मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु। ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु।’
आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनले बाचा समेत गरे।
शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता जनाए।
एनआरएनएको अभियानलाई अब मानवीय सहयोगमा मात्र सीमित नराखी देशको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भइसकेको उनले जिकिर गरे।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन्।
एनसीसी कतारको सल्लाहकारदेखि आइसीसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर संघमा काम गरेका उनी हालआइसिसी उपाध्यक्ष हुन्।