राजेन्द्र अर्याल मध्यपूर्व संयोजकमा दोहोरिने
रियाद । गैरआवासीय नेपाली संघ (एनआरएनए)का मध्यपूर्व क्षेत्रीय संयोजक राजेन्द्र अर्याल (जोन)ले आगामी कार्यकालमा सोही पदमै उम्मेदवारी दिने भएका छन्।
साथीभाइ तथा अग्रजहरूको दवाव बढेपछि संयोजक पदमै उम्मेदवारी दिने निर्णयमा पुगेको अर्यालले प्रवास खबरलाई बताए।
पाल्पा निवासी अर्याल विगत दुई दशकदेखि साउदी अरबमा कार्यरत छन्। ‘सेवा नै धर्म हो’ भन्ने भावनाबाट प्रेरित भएर आफू सामाजिक अभियानमा जोडिएको अर्याल बताउँछन्।
उनी साउदीमा एनआरएनए स्थापना हुनु अगावै पनि श्रमिकका समस्या समाधानमा सक्रिय थिए।
अर्यालले मध्यपूर्व संयोजक रहँदा मस्कटमा एनआरएनएको मुद्दाहरूलाई संस्थागत गर्दै सम्बधित निकायमासम्म पुर्याउन उल्लेखनीय भूमिका खेलेका थिए।
सन् २०१३ बाट अर्याल एनआरएनए अभियानमा निरन्तर क्रियाशिल छन्। शान्त र भद्र स्वभावका अर्याल मध्यपूर्वी मुलुकसहति अन्य सबै देशका गैरआवासीय नेपालीको रोजाइमा पर्छन्।
कुनै पनि काममा व्यक्तिगत तवरले भन्दा समूहगत सहभागिताको अलगै महत्व र प्रभाव पर्ने अर्यालको बुझाइ छ।
संस्थामा काम गर्दा सधैं ‘कम गर्नु, फलको आशा नगर्नु’ भन्ने मान्यतालाई आत्मसात गर्नुपर्ने उनको तर्क छ।
कोभिड महामारीमा साउदीलगायत मध्यपूर्वी देशमा अलपत्र परेका नेपाली श्रमिकको राहत तथा उद्धार कार्यमा उनको भूमिका विशेष मानिन्छ।
आगामी कार्यकालमा पनि आफ्नो पहिलो प्राथामिकतामा श्रमिकका मुद्दा रहने अर्यालले बताए।
‘विदेशमा बस्ने नेपालीमा सबैभन्दा ठूलो समस्या भनेको मध्यपूर्वमा काम गर्ने श्रमिकको हो। मध्यपूर्वी देशहरूमा नेपालीले भोग्दै आएका समस्या नै मेरो प्राथामिकतामा हुनेछन्,’ अर्यालले प्रवास खबरसँग भने।
उनले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन नीतिगत विषयमा आफूले विशेष भूमिका खेल्ने बताएका छन्।
सिङ्गो एनआरएनएको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रित गर्न तथा त्यस क्षेत्रका नेपालीका सम्पूर्ण समस्या र कामदारको नियमित र उचित पारिश्रमिक, उनीहरूको सामाजिक सुरक्षाका विषयलाई संस्थागतरूपमा उठाउन आफूले उम्मेदवारी दिएको अर्यालको भनाइ छ।
मध्यपूर्वी देशमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई देशको हितमा जोड्ने एजेण्डासमेत अर्यालले अघि सारेका छन्।
एनआरएनएले नेपालमा नेपालमा सञ्चालन गर्ने परियोजनामा मध्यपूर्वका नेपालीलाई पनि लगानीको अवसर दिनुपर्ने उनको भनाइ छ।
संघलाई विश्वभरका नेपालीको साझा संगठनको रुपमा अघि बढाउन,गैरआवासिय नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्दता, पर्यटन प्रर्वद्धन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने बाताबरण जुटाउन पहल गर्ने, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको सुनिश्चितालगायतका बुँदाहरु अर्यालले चुनावी एजेण्डामा अघि सारेका छन्।
केही समयपछि अर्यालले आफ्नो प्रमुख चुनावी एजेण्डा सहित उम्मेदवारी घोषणा गर्ने बताएका छन्। अर्याललाई निर्विरोध मध्यपूर्व संयोजक बनाउन एनआरएनए अभियन्ताहरु लागेका छन्।
अर्यालको घोषणापत्र :
१, राहत तथा उद्वार कार्यमा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीहरुलाई पुनस्स्थापनाको लागि नेपाल सरकार र सरोकारवाला संग समन्वय गर्नेछु।
२, वैदेशिक रोजगार ऐन २०६४ लाई पूर्ण रुपमा कार्यान्वयन गर्नरगराउन सरोकारवालाहरु संग पहल गर्नेछु।
३, सामाजिक सुरक्षा कोषमा आबद्ध हुनलाई सम्पूर्ण आप्रवासी नेपालीहरुलाई सहजीकरण गर्नेछु।
४, अन्य सामाजिक संघरसंस्था संग मिलेर सहकार्य गर्नेछु।
५, अन्तर्राष्ट्रिय समन्वय परिषद र मध्यपूर्वका एनसिसिहरुसँग सहकार्य गरेर कार्य योजना बनाई कार्यदिशा तय गर्नेछु।
६, मध्यपूर्वबाट पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुको आयोजना गर्नेछु।