टीका गुरुङ महिला सचिवमै दाेहाेरिने

टीका गुरुङ महिला सचिवमै दाेहाेरिने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला सचिव राधिका गुरुङ (टीका)ले आउँदो कार्यकालमा पनि सोही पदमै उम्मेदवारी दिने भएकी छिन्।

विगत २७ वर्षदेखि हङकङमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय रहेकी गुरुङ एनआरएनएमा उदयमान महिला अभियन्ता मानिन्छिन्।

हङकङमा मात्र नभइ विश्वभरका नेपालीहरुमाझ परिचित नाम हो, टीका। एनआरएनएमा अहिले महिला सचिव भएर धेरै काम गरेकी गुरुङ एनआरएनएको आउँदो कार्यकालका लागि पनि सोही पदमै दोहर्‍याउन चाहेकी हुन्।

हङकङलाई आफ्नो कार्यक्षेत्र बनाएर रेष्टुरेन्ट, सेक्युरिटी कम्पनी र रेमिटेन्समा काम गर्दै आएकी टिका (एनआरएनए) हङकङ शाखाकी सान पनि हुन्।

एनआरएनए हङकङको सदस्य, कोषाध्यक्ष, महिला संयोजक, उपाध्यक्ष र निरन्तर दुई कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलताकापूर्वक पूरा गरकी गुरुङ अहिले आइसीसी महिला सचिवको जिम्मेवारीमा छिन्।

हङकङमा बसोबास गर्ने नेपाली माझ उनी व्यवसायीभन्दा पनि समाजसेवीको रूपमा बढी चिनिन्छिन्। यसैले पनि होला, उनलाई हङकङ सरकारले बिरलै प्रदान गर्ने ‘चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्डबाट सम्मानित गरेको।

मृद्भाषी तथा अरुको दुःख देख्न नसक्ने यिनै टिकाले एनआरएनएको कार्यकालका लागि सोही पद दोहर्‍याउन चाहेकी हुन्।

एनआरएनएको नयाँ नेतृत्वका लागि आगामी चुनाव आउँदो अक्टोररमा हुँदैछ। नेपाली महिला नेतृत्वको हरेक तहमा पुग्नुपर्ने मान्यता राख्दै आएकी टिकाको नेपालमा घर पोखरा हो।

उनी सन् १९९४ मा हङकङ प्रवेश गरेकी थिइन। सन् १९९९ देखि रेष्टुरेन्ट व्यवसायमा सक्रिय उनी गोर्खाज कन्स्ट्रक्सन कम्पनी, जीथ्रीएस सेक्युरिटी कम्पनी, केएमी फाइनान्स एण्ड रेमिट्यान्स कम्पनीकी अध्यक्ष पनि हुन्।

उनको कार्यकालमा गैरआवासीय नेपालीको अभियानले हङकङमा नयाँ अध्याय सुरु गरेको थियो। आफू महिला सचिव भएपछि गैरआवासीय नेपालीको अभियानमा महिला सहभागीता बढाएको दावी उनको छ।

‘मेरो अभियानले विदेशमा बसोबास गर्ने नेपाली महिलालाई नयाँ पहिचान दिनुका साथै सशक्तिकरणको अभियानमा टेवा पुग्ने ठानेको छु,’ टिकाले प्रवास खबरसँग भनिन्।

टिका एनआरएनए अभियानका लागि नयाँ सदस्य होइनन्। उनको यो संस्थामा लामो योगदान र अनुभव छ। उनी सन् २००६ देखि नै गैरआवासीय नेपालीको अभियानमा लागेकी थिइन।

‘म २००६ देखि २००९ सम्म एनआरएनए हङकङको पञ्जीकृत सदस्य थिए। सन् २००९–११ सम्म कार्यसमितिको सदस्य रहे। सन् २०११–१३ मा कोषाध्यक्ष तथा महिला संयोजक भएपछि नयाँ पहिचान मिल्यो,’ उनले बताइन्।

टिकाले सन् २०१३–१५ को कार्यकालमा एनआरएनए हङकङको वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेकी छिन्। उनले हङकङ शाखाको अध्यक्षका लागि २०१५ मा चुनाव लडेपनि पराजित हुन पुगिन्। तर, यो पराजयले उनको मनोबल कत्ति पनि घटेन।

‘म त भन्छु। यसले झन् बढी उर्जा दियो। महिलाहरू पुरुषसरह किन प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने सोच वास्तवमा यही पराजयले दिलायो,’ उनी भन्छिन्।

टिका सन् २०१७ देखि अनवरत हङकङको अध्यक्षमा निर्विरोध छिन्। उनी देशमा भइपरी आउने विपत्तिमा सहयोग गर्न सधै तत्परताका साथ अगाडि आउने गरेकी छिन्।

‘म कसैको दुःख देख्नै सक्दिन,’ उनले भनिन्। हङकङमा नेपालीलाई रोजगारीको अवसर दिलाउन उनी रातदिन खट्ने गरेकी थिइन। उनको नेतृत्वमा एनआरएनएले चौध वर्ष पश्चात एसिया प्यासिफिकको सम्मलेन हङकङमा गराउन सफल भएको थियो।

एनआरएनए हङकङको नेतृत्वमा रहँदा गुरुङले सन् २०१८ मा पहिलो पटक हङकङमा ‘एसिया प्यासिफिक रिजनल मिटिङ’ गराएर नेपालका प्रतिनिधिसहित ३५ वटा राष्ट्रका एनआरएनए प्रतिनिधि, एनआरएनए अभियन्ता, अग्रजहरुको उपस्थितिमा ऐतिहासिक सम्मेलन गर्न सफल भइन्।

कोभिड–१९ को भयावहस्थितिमा उनको पहलमा हङकङले ५० थान दश लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर र १७ लाख मास्क नेपाल पठाएको थियो।

नेपाली नेतामाझ पनि राम्रो पहुँच बनाएकी टिकाले नागरिकता समस्या सामाधान तथा वैदेशिक रोजगारीमा आउने नेपालीहरूको हित र संरक्षणमा आवाज बुलन्द पार्दै आइरहेकी छिन्।

‘फेरि सचिव पदमै मेरो उम्मेदवारी बाँकी रहेका कामलाई पूर्णता दिन हुनेछ,’ उनी भन्छिन्, ‘एनआरएनएमा महिला र पुरुषको समान सहभागिताले मात्र यो संस्थाले पूर्णता पाउने छ।’