एसिया क्षेत्रको नेतृत्व हाँक्ने होडमा जापानका शिवप्रसाद

एसिया क्षेत्रको नेतृत्व हाँक्ने होडमा जापानका शिवप्रसाद

काठमाडौैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट शिवप्रसाद पौडेलले उम्मेदवारी दिने भएका छन्।

आगामी अक्टोबरमा हुने संघको एघारौं महाधिवशेनमा एसिया क्षेत्रको नेतृत्वमा उम्मेदवारी दिने तयारीमा रहेका उनले चुनावी गतिविधिलाई तीव्र पारेका छन्।

उनी, एनआरएनए जापानका निवर्तमान अध्यक्ष हुन्।

एनसीसी जापानको सफलतापूर्वक नेतृत्व गरेपछि उनले एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा चाहना राखेका हुन्।

एनआरएनएभित्र शालिन र कर्मशील अभियान्ताको छवि बनाएका शिवप्रसादको चाहानालाई एसियावासी नेपालीले स्वभाविक ठानेका छन्।

‘एसियाली मुलकमा धेरै नेपाली रोजगारीमा हुनुहुन्छ। जापान, कोरियालगायतका मुलुकमा विद्यार्थीको संख्या पनि बढ्दो छ,’ उनले भने, ‘एसियाली मुलुकमा रहेका नेपालीका मुद्दामा नजिक भएर काम गर्ने इच्छा छ। त्यसैले ‘आरसी’ (क्षेत्रीय संयोजक) रोजेको हुँ।’

एसिया प्यासिफिक क्षेत्रमा कार्यरत नेपालीले आर्जन गरेको अनुभव, ज्ञान, सीप, प्रविधि र पुँजी नेपालको समृद्धिका निम्ति महत्वपूर्ण हुने बताउँछन्, शिवप्रसाद। यी अनुभवलाई गैरआवासीय नेपाली संघमार्फत राष्ट्रहितमा लगाउन आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ।

शिवप्रसादले निर्वाचनका लागि १० वटा प्रतिबद्धता सार्वजनिक गरेका छन्।

ती प्रतिबद्धता यस्ता छन्।

१– वैदेशिक रोजÞगारलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवाला निकायमा पहल गर्ने।

२– श्रमिकको हक अधिकारको लागि विचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पीडित बनाइने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गर्ने।

३– विदेशमा जाने श्रमिकलाई सक्षम र सवल तथा दक्ष बनाउन गन्तव्य मूलुक जानुअघि सम्बन्धित काममा सिपयुक्त बनाउन एनआरएनएमार्फत निःशुल्क सिप सिकाउन भोकेसनल पार्क तथा कलेजको स्थापना गर्न व्यवस्था मिलाउन सम्बन्धित निकायमा पहल गर्ने।

४– श्रम स्वीकृति लिन विद्यमान झण्झटिलो प्रक्रियाको समाधानका लागि सरोकारवाला निकायसँग आवश्यक छलफल गरी समाधानको लागि विकल्पसहित सहजिकरण गर्ने।

५– सामाजिक सुरक्षा कोषबाट पाईने सम्पूर्ण सुविधाकाबारेमा प्रवासमा रहेका हरेक नेपालीलाई सुसूचित बनाउन सचेतनमूलक कार्यक्रमका लागि एनएसीसीको समन्वयमा कार्यक्रम गर्ने।

६– गैरआवासीय नेपालीहरूलाई नागरिकताको निरन्तरता र विदेशमा बस्ने नेपालीलाई सम्बन्धित मुलुकहरुबाट मताधिकारको सुरक्षा सुनिश्चीत गर्न पहल गर्ने।

७– एसिया प्यासिफिक क्षेत्रको लागि छुट्टै बैंकिङ कारोवार गर्न एकाउण्ट सञ्चालनमा ल्याइ सोमार्फत राहत कोषको स्थापना गर्ने।

८– वैधानिक रूपमा रेमिट्यान्स नेपाल भित्र्याउन र वैदेशिक लगानीको वातावरण सृजना गर्न पहल गर्ने।

९– एनआरएनले गर्ने राष्ट्रिय खेलकूदको लागि विदेसबाट नेपाल जाने खेलाडीका हवाई टिकट, होटल, बीमा र अन्य सहुलियतका लागि कोष बनाउन एनआरएन पहल गर्ने।

१०– म्यानमार, थाइल्याण्ड, मलेसिया, फिजीलगायतका मुलुकमा सयौं वर्ष अघि पुगेका नेपालीलाई पीएनओ परिचय पत्र दिलाउन सरकार नेपालसरकारसँग पहल गर्ने।