महेश श्रेष्ठले महासचिवमा बुद्धि सुवेदीलाई उठाउने पक्का

महेश श्रेष्ठले महासचिवमा बुद्धि सुवेदीलाई उठाउने पक्का

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी महेश कुमार श्रेष्ठले महासचिवमा बुद्धि सागर सुवेदीलाई उठाउने पक्का भएको छ।

सुवेदी एनआरएनए अमोरिकाका निर्वतमान अध्यक्ष हुन्।

प्रजातान्त्रिक प्यानलबाट सुवेदीसहित बेल्जियमबाट गंगाधर गौतमले महासचिव पदमा दावी गरेका थिए।

शुक्रबार श्रेष्ठको उम्मेदवारी घोषणा सभामा पनि सुवेदी र गौतम दुवै जनाले महासचिवमा पदमा उम्मेदवारी रहने बताएका थिए।

गौतमले महासचिव पदमै दावी गरेपछि श्रेष्ठलाई मिलाउन सकस परेको थियो।

गौतम संघमा अहिले सचिव छन्।

महासचिव पदमा दुईमध्ये एक जनालाई मात्र उठाउन नेपाली कांग्रेसका नेताहरूसहित काठमाडौंमा कयौंपटक बैठक भएका थिए।

अन्तत : महासचिव पदमा सुवेदीलाई अघि बढाउने निर्णय भएकाे श्रेष्ठको ‘कोर टीम’ रहेका एक सदस्यले प्रवास खबरलाई बताए।

‘महासचिव पदमा बुद्धिजी नै हो। यो कुरा पहिला नै तय भइसकेको हो। तर, गंगा जीले पनि महासचिवमा आउँछु भनेपछि मिलेर अघि जानुपर्छ भन्ने कुरा मात्र थियो। बुद्धिजी नै हाम्रो टीमको महासचिव हो,’ उनले भने।

उनका अनुसार गौतम अब उपमहासचिव वा उपाध्यक्ष पदमा आउन सक्छन्।

‘गंगा जी अब रोजेर आउनुहुन्छ। उपाध्यक्ष वा उपमहासचिव जुन पदमा आएपनि उहाँको रोजाइ हो,’ उनले भने।

काठमाडौंमा उम्मेदवारी घोषणा गरेर सुवेदी श्रेष्ठसँगै जापान पुगेका छन्।

जापानका गैरआवासीय नेपालीसँगको छलफलमा पनि सुवेदीले आफू महासचिवमा आउने बताउँदै सहयोग गर्न आग्रह गरेका छन्।

यता गौरीराज  जोशले पनि महासचिव पदमै उम्मेदवारी दोहर्‍याउने घोषणा गरिसकेका छन्। जोशी पनि अमेरिका निवासी हुन्।