विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था मिलाउँछु : प्रधानमन्त्री
न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन्।
संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा यस्तो बताएका हुन्।
उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताए।
प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए।
उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको बताए।
प्रधानमन्त्री दाहाल आजै न्यूयोर्क आएका हुन्।
उनलाई संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले आजै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेसेससँग भेटवार्ता गरेका छन्।
महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।