एनआरएनए उपमहासचिवमा अष्ट्रेलियाका गिरीको तयारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपमहासचिवमा कृष्ण गिरीले उम्मेदवारी दिने भएका छन्।
आगामी अक्टोबरमा हुँदै गरेको संघको एघारौं महाधिवेशनमा आफूले उपमहासचिव पदमा उम्मेदवारी दिने तयारी गरेको गिरीले प्रवास खबरलाई बताए।
गिरी लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय छन्। एनसीसी तथा आइसीसीका विभिन्न समितिमा बसेर कार्य सम्पादन गरेको लामो अनुभव उनीसँग छ।
सन् २०१३–१५ कार्यकालमा गिरी आइसीसी युवा संयोजक भएर काम गरेका थिए।
गिरीले विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सीप, क्षमता र दक्षतालाई नेपाल निर्माणमा जोड्ने योजना अघि सारेका छन्।
आइसीसी युवा संयोजक हुँदा उनले प्रवासमा हुर्कदैं गरेका दोस्रो पुस्तालाई नेपाल र नेपालीसँग जोड्न ‘डलर १ कापी र कलम’ परियोजना सञ्चालन गरेका थिए। त्यत्तिबेला यो परियोजनाले निकै चर्चा समेत पाएको थियो।
‘मेरो ऊर्जालाई अझ बढी प्रभावकारी रुपमा समाजको हितमा यसै साझा संस्थामार्फत समर्पित गर्ने सोचका साथ अघि बढेको छु,’ उनले भने।
अष्ट्रेलियामा नेपाल चिनाउने अभियानमा उनको भूमिका मह्त्वपूर्ण मानिन्छ। उनको सक्रियतामा विभिन्न फेस्टिवलहरू आयोजना भएका थिए।
एनआरएनएले नेपालमा गर्ने परोपकारी परियोजना तथा संघको भवन निर्माण गर्न उनले आर्थिक अभियान चलाएका थिए।
गिरी झापा निवासी हुन्। अहिले अन्तर्राष्ट्रिय झापाली समाजको सल्लाहकार समेत छन्।
डिजिटल टेक्नोलोजि एवं आइटीमा उनको दक्षता छ।