एनआरएनए निर्वाचन : ‘टीम महेश’मा सम्भावित उम्मेदवार को–को छन्?

एनआरएनए निर्वाचन : ‘टीम महेश’मा सम्भावित उम्मेदवार को–को छन्?

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आउँदो अक्टोबरमा हुने चुनावको सरगर्मी बढेको छ। निर्वाचनको मिति नजिकिदैँ गर्दा प्रवासदेखि काठमाडौंसम्म चुनावी माहोल तात्न थालेको छ।

संघको एघारौं महाधिवेशन १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंको सोल्टी होटलमा हुँदैछ। काठमाडौं आउन नसक्ने प्रतिनिधिलाई अनलाइनबाट भोट हाल्न पाउने व्यवस्था मिलाइएको छ।

एनआरएनए वृत्तमा अहिले चुनावकै सवालमा चर्चा परिचर्चा छ।

संघको आगामी नेतृत्वका लागि राजेन्द्र कुमार शर्मा (आरके), महेश श्रेष्ठ र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुँदैछ। शर्मा र श्रेष्ठ अहिले उपाध्यक्ष हुन् भने डा. केसी कार्यकारी अध्यक्ष हुन्। केसीले नेतृत्व दोहर्‍याउन चाहिरहेका छन्।

केसीले आफ्नो टीममा समावेश गर्ने ८० प्रतिशत उम्मेदवारको टुंगो लगाइसकेका छन्।

यस्तै, श्रेष्ठले पनि उम्मेदवारको विषयमा गृहकार्य गरिरहेका छन्। श्रेष्ठले आउँदो शुक्रबार औपचारिक कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्दैछन्।

श्रेष्ठ यतिबेला काठमाडौंमा छन्। सकभर आउँदो शुक्रबार उनले आफूसहित टीमका अन्य उम्मेदवारको नाम पनि सार्वजानिक गर्नेछन्।

श्रेष्ठ नेपाली कांग्रेस निकट हुन्। कांग्रेसले श्रेष्ठलाई आधिकारिक उम्मेदवार उठाउने विषयमा यसअघि नै निर्णय गरिसकेको छ।

टीममा क–कसलाई समावेश गर्ने भन्ने विषयमा उनको ‘कोर टीम’ले गृहकार्य गरिरहेको छ। श्रेष्ठको ‘कोर टीम’मा उनीसहित कुल आचार्य, हिक्मत थापा, डा. केशव पौडेललगायत ७ जना छन्।

श्रेष्ठले काठमाडौंको ‘वुडल्याण्ड’ होटलमा आफ्नो सचिवालय खडा गरेका छन्। उनको सचिवालयको नेतृत्व जेपी श्रेष्ठले गरिरहेका छन्।

स्रोतका अनुसार श्रेष्ठले उपाध्यक्षमा अमेरिकाबाट डा. केशव पौडेल, नेदरल्याण्डबाट नारायण आचार्य, हिमाल गुरुङ, कतारबाट राज रेग्मी, अष्ट्रेलियाबाट गणेश केसीलगायतलाई ल्याउने सम्भावना छ।

यस्तै, उपाध्यक्षमा उनले मलेसियाका खगेन्द्र न्यौपानेलाई पनि आफ्नो टीममा ल्याउन प्रयास गरिरहेको स्रोत बताउँछ।

युवा उपाध्यक्षमा भने उनले उम्मेदवार खडा नगर्ने भएका छन्। जापानका रोशन थापालाई उनको समर्थन रहने बताइएको छ। थापालाई डा. केसीले टीममा राखेका छन्।

यस्तै, महासचिवमा बेल्जियमका गंगाधर गौतम र अमेरिकाका बुद्धी सुवेदीमध्ये एक जना आउनेछन्। गौतम र सुवेदी दुवै जनाले महासचिवमा दावी गरेपछि श्रेष्ठलाई मिलाउन सकस परेको छ।

‘सायद भोलिसम्म टुंगिन्छ। दुई जनामध्ये एक जना आउनुहुन्छ। छलफल भइरहेको छ,’ कोर टीमका एक सदस्यले प्रवास खबरसँग भने।

गौतम महासचिवमा आउने भए सुवेदीलाई कोषाध्यक्षमा ल्याउन प्रयास हुनेछ। यदी सुवेदी महासचिवमा आए गौतमलाई उपमहासचिवमा उठाउने प्रयास हुनेछ। गौतम अहिले सचिव छन् भने सुवेदी एनसीसी अमेरिकाका निवर्तमान अध्यक्ष हुन्।

यसैगरी, उपमहासचिवमा कृष्ण गिरी, सोम सापकोटालगायतको चर्चा छ।

श्रेष्ठले सचिवमा अमेरिकाबाट कृष्णजीवी पन्थ, अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप साह, यूएईका मनोज कुमार श्रेष्ठ, स्पेनका चिन्तामणी सापकोटालगायतलाई अघि सार्ने सम्भावना छ।

यद्यपि स्पेनका सापकोटालाई युरोप क्षेत्रीय संयोजकमा दोहर्‍याउन दबाव बढेको छ।

‘अहिलेसम्म फाइनल भएको छैन। उम्मेदवार उठ्ने धेरैको चाहना छ। सबैलाई मिलाउनु पर्नेहुन्छ। मुख्य पदहरू केहीदिन भित्र टुंगिन्छन्,’ कोर टीम सदस्यले भने।



No ads found for this position